काठमाण्डौं । होर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरानबीच तनाव फेरि चुलिएको छ।
इरानले अमेरिकी सेनामाथि दुई इरानी जहाजलाई निशाना बनाएको र नागरिक क्षेत्रमा आक्रमण गर्दै युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ ।
अमेरिकी सेनाको सेन्ट्रल कमान्डले भने इरानतर्फबाट भएको भनिएको आक्रमणलाई बीचमै रोकिएको र आत्मरक्षाका क्रममा जवाफी कारबाही गरिएको जनाएको छ ।
अलजजिराका अनुसार अमेरिकी नौसेनाका गाइडेड–मिसाइल विनाशक युद्धपोतहरू होर्मुज जलमार्ग हुँदै ओमानको खाडी प्रवेश गरिरहेका बेला घटना भएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तीनवटा अमेरिकी युद्धपोतले जोखिमका बाबजुद होर्मुज जलमार्ग सुरक्षित रूपमा पार गरेको दाबी गरेका छन्।
उनका अनुसार अमेरिकी जहाजमा कुनै क्षति पुगेको छैन भने जवाफी कारबाहीमा इरानी सेनालाई ठूलो क्षति भएको छ ।
सेन्ट्रल कमान्डले अमेरिकी फौजमाथिको खतरा निस्तेज पारिएको दाबी गर्दै मिसाइल तथा ड्रोन प्रक्षेपण स्थल, कमान्ड सेन्टर र निगरानी केन्द्रहरूमा आक्रमण गरिएको जनाएको छ ।
साथै, आफूहरू तनाव बढाउन नचाहने तर सुरक्षाका लागि पूर्ण तयारी अवस्थामा रहेको स्पष्ट पारेको छ ।
यता इरानको खातम अल–अम्बिया सैन्य मुख्यालयका प्रवक्ताले भने अमेरिकाले दुई इरानी जहाजलाई लक्षित गरेको दाबी गरेका छन्।
उनका अनुसार एउटा तेल ट्यांकर जास्कबाट होर्मुजतर्फ जाँदै थियो भने अर्को जहाज संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाह नजिक थियो ।
एजेन्सी

