काठमाण्डौ । दिगो ग्रुपले साझा यातायातको ४० वटा विद्युतीय गाडी सँगैसँगै ११ वटा चार्जरको जडान गरेको छ । साझा चार्जिङ डिपो नाम दिएर तयार पारिएको स्टेशन साझा यातायातले यही मंगलबारबाट विधिवत रुपमा सञ्चालनमा ल्याएको छ।
साझा यातायातले हाल खरिद गरेको विद्युतीय गाडीको निर्माता सीएचटीसीले साझालाई बधाई दिदै वैकल्पिक उर्जाप्रति लिएको यस कदमलाई प्रोत्साहन गरेर विज्ञप्ती सार्वजनिक गरेका छन् । सीएचटीसीले सो विज्ञप्तीमा नेपालको सार्वजनिक यातायातमा यो कदमले ठूलो परिवर्तन ल्याउने विचार व्यक्त गरेको छ ।
चार्जरको उद्घाटन समारोहमा उपस्थित दिगो ग्रुपका अध्यक्ष्य राजन रायमाझीले साझा यातायातले सफा उर्जाप्रति लिएको कदमले आफु खुशी भएको बताए । उनले भने,‘देशको उन्नति र प्रगतिका लागि विद्युतीय गाडी र जलविद्युत बरदान हुन् । सार्वजनिक यातायातले ठुलो मात्रामा डिजेलको खपत गर्छन जसका कारणले प्रदुषण पनि धेरै गर्छन । यसलाई रोक्नलाई सबै निकायले साझा यातायातले वैकल्पिक उर्जा प्रति लिएको यस ठूलो कदमबाट प्रेरणा लिनुपर्छ।’
साझा यातायातले सञ्चालन गर्ने सीएचटीसी ब्राण्डका विद्युतीय गाडी कम्पनीको नेपालको लागि आधिकारिक वितरक दिगो ग्रुप हो । दिगोले विद्युतीय गाडीको बिक्रि, वितरण र सर्भिस मात्र नभई चार्जरको बिक्रि, वितरण र सर्भिसमा, विद्युतीय गाडी भाडामा दिने साथै राजमार्गमा रेस्ट स्टप सञ्चालन गर्दै आईरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                