मंगलवार, श्रावण १९,२०८३ 02:20:11
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 02:20:11
Bizshala
Global IME Bank Limited

प्रधानन्यायाधीश सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध १६ उजुरी

प्रधानन्यायाधीश सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध १६ उजुरी
New Office

काठमाण्डौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा १६ वटा उजुरी दर्ता भएका छन् ।  

संसदीय सुनुवाइ प्रक्रियाअन्तर्गत सार्वजनिक रूपमा उजुरी आह्वान गरिएपछि विभिन्न व्यक्ति तथा सरोकारवाला पक्षबाट ती उजुरी दर्ता भएको बताइएको छ ।

संसदीय सुनुवाइ समितिका शाखा अधिकृत विजयकुमार भट्टराईका अनुसार प्राप्त उजुरीहरू मंगलबार बस्ने समितिको बैठकमा औपचारिक रूपमा खोलिनेछन् ।  

समितिको बैठक बिहान ९ः४५ बजेका लागि बोलाइएको छ ।  

बैठकमा उजुरीहरू खोल्नुका साथै तिनको प्रारम्भिक अध्ययन, सुनुवाइको कार्यतालिका तथा समितिको आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ ।

समितिले उजुरी संकलनका लागि वैशाख २६ गते सार्वजनिक सूचना जारी गर्दै १० दिनभित्र उजुरी दर्ता गर्न आह्वान गरेको थियो ।

सोही अवधिमा १६ वटा उजुरी प्राप्त भएको समितिले जनाएको छ ।  

संसदीय सुनुवाइ प्रक्रिया अन्तर्गत प्राप्त उजुरीहरूलाई महत्त्वपूर्ण आधारका रूपमा हेरिने भएकाले अब समितिले ती उजुरीमाथि अध्ययन तथा छलफल गर्नेछ ।

संसदीय सुनुवाइ समितिले उजुरीमा उठाइएका विषयबारे आवश्यक परे स्पष्टीकरण माग्ने, छलफल गर्ने तथा उम्मेदवारसँग प्रत्यक्ष प्रश्नोत्तरसमेत गर्ने संवैधानिक अधिकार राख्छ ।

त्यसपछि मात्रै उम्मेदवारको नाम अनुमोदन गर्ने वा नगर्नेबारे निर्णय गरिने व्यवस्था छ ।

डा. मनोजकुमार शर्मालाई वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको थियो ।  

न्याय परिषद्ले पठाएको नामावलीमा शर्मा चौथो वरीयतामा रहेका न्यायाधीश थिए ।

तर, संवैधानिक परिषद्ले पहिलो वरीयतामा रहेकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरीयताका न्यायाधीश कुमार रेग्मी तथा तेस्रो वरीयताका न्यायाधीश हरिप्रसाद फुयाललाई छोड्दै शर्मालाई सिफारिस गर्ने निर्णय गरेको हो ।

न्याय परिषद्ले पठाएको सूचीमा शर्मासहित न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम पनि समावेश थियो ।  

अन्ततः संवैधानिक परिषद्ले शर्मामाथि विश्वास गर्दै सर्वोच्च अदालतको नेतृत्वका लागि सिफारिस गरेको हो ।  

उक्त निर्णयपछि न्यायिक तथा राजनीतिक वृत्तमा व्यापक चासो देखिएको छ ।

 

डा. शर्मा २०७६ वैशाख ६ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए ।  

उनी प्रधानन्यायाधीश नियुक्त भएमा करिब ६ वर्षसम्म सर्वोच्च अदालतको नेतृत्व गर्ने सम्भावना रहेको छ । 

नेपालको संविधानअनुसार प्रधानन्यायाधीशको कार्यकाल अधिकतम ६ वर्ष वा ६५ वर्ष उमेर पूरा नभएसम्म रहने व्यवस्था छ ।

२०२७ असार ४ गते पर्सामा जन्मिएका शर्मा २०९२ असार ३ गते ६५ वर्ष पुग्नेछन् ।  

यदि उनी नियुक्त भएमा २०८९ वैशाखसम्म सर्वोच्च अदालतको नेतृत्वमा रहने अनुमान गरिएको छ ।  

२०४७ सालपछि कुनै पनि प्रधानन्यायाधीशले पूर्ण ६ वर्षे कार्यकाल पूरा गर्न नपाएको अवस्थामा शर्माले पूर्ण कार्यकाल पूरा गर्न सक्ने सम्भावनाबारे पनि चर्चा भइरहेको छ ।

शैक्षिक पृष्ठभूमितर्फ शर्मा नेपाल ल क्याम्पसबाट कानूनमा स्नातक गरेका हुन् ।  

उनले भारतको पुने विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट श्रमसम्बन्धी कानून विषयमा विद्यावारिधि गरेका छन् ।

न्यायिक करिअरको सुरुआततर्फ उनी २०७० जेठ २७ गते पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीश नियुक्त भएका थिए ।  

त्यसक्रममा उनले तत्कालीन पुनरावेदन अदालत बुटवल र पाटनमा न्याय सम्पादन गरेका थिए ।  

पछि अस्थायी न्यायाधीशको व्यवस्था हटाइएपछि २०७४ मंसिर २६ गते उच्च अदालतको अतिरिक्त न्यायाधीश पदबाट बाहिरिएका थिए ।  

त्यसपछि पुनः न्यायिक प्रक्रियामार्फत २०७६ सालमा सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका हुन् ।

अब संसदीय सुनुवाइ समितिले शर्माको नाम अनुमोदन गरेपछि नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस पठाइनेछ ।

नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.