काठमाण्डौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि ट्राफिक प्रहरीले एक साताभित्र व्यापक कारबाही गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार वैशाख २९ गतेदेखि जेठ ५ गतेसम्म सञ्चालन गरिएको नियमित चेकजाँच, निगरानी तथा विशेष अभियानका क्रममा कुल १३ हजार ९० जना चालक तथा नियम उल्लङ्घनकर्तामाथि कारबाही गरिएको हो ।
उक्त अवधिमा गरिएको कारबाहीबाट एक करोड १८ लाख ६ हजार १३ रुपैयाँ राजस्व सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।
पछिल्लो समय उपत्यकाभित्र सवारी साधनको अत्यधिक चाप, अव्यवस्थित पार्किङ, नियमप्रति लापरवाही तथा जोखिमपूर्ण सवारी सञ्चालनका कारण सडक दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले निगरानी तथा कारबाही अभियानलाई तीव्र बनाएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार विशेषगरी मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालकहरूमाथि कडाइ गरिएको थियो ।
सो अभियानका क्रममा मापसे गरी सवारी चलाएको अवस्थामा ६२९ जना चालक पक्राउ तथा कारबाहीमा परेका छन् ।
त्यस्तै, राइड सेयरिङ सेवासम्बन्धी नियम उल्लङ्घन गर्ने १ हजार ३६ जना चालकलाई पनि कारबाही गरिएको उनले जानकारी दिए ।
ट्राफिक सिग्नल उल्लङ्घनका घटनामा पनि उल्लेख्य वृद्धि देखिएको प्रहरीले जनाएको छ ।
रातो बत्तीको बेवास्ता गर्दै सवारी चलाउने १ हजार २८२ जना चालक कारबाहीमा परेका छन् ।
यस्तै, तीव्र गतिमा सवारी चलाउने ७७८ जना, लेन अनुशासन उल्लङ्घन गर्ने ५४० जना तथा एकतर्फी सडकमा प्रवेश गर्ने ७६२ जना चालक पनि कारबाहीको दायरामा परेका छन् ।
सडक सुरक्षासँग प्रत्यक्ष सम्बन्धित नियम उल्लङ्घनमाथि पनि ट्राफिक प्रहरीले कडाइ गरेको छ ।
सार्वजनिक सडक तथा फुटपाथ अतिक्रमण गरी अव्यवस्थित रूपमा पार्किङ गर्ने तथा पैदल यात्रुका लागि बनाइएका स्थान ओगट्ने ६४० जनामाथि कारबाही गरिएको छ ।
त्यस्तै, ‘नो हर्न’ क्षेत्रभित्र निषेधित रूपमा हर्न बजाउने १ हजार ६४६ जना चालकलाई समेत कारबाही गरिएको छ ।
प्रवक्ता सुवेदीका अनुसार ट्राफिक प्रहरीको मुख्य उद्देश्य केवल राजस्व सङ्कलन गर्नु नभई सडक सुरक्षा सुनिश्चित गर्नु, दुर्घटना न्यूनीकरण गर्नु र नागरिकलाई सुरक्षित यात्रा प्रदान गर्नु हो ।
उनका अनुसार मापसे, तीव्र गति, मोबाइल फोन प्रयोग गर्दै सवारी चलाउने तथा ट्राफिक संकेत उल्लङ्घन गर्ने गतिविधि सडक दुर्घटनाका प्रमुख कारण भएकाले यस्ता कार्यविरुद्ध निरन्तर अभियान सञ्चालन गरिएको छ ।
उपत्यकामा दिनप्रतिदिन बढ्दो सवारी चापसँगै ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको छ ।
सीमित सडक संरचना, अव्यवस्थित पार्किङ र नियम पालनामा कमीका कारण जाम तथा दुर्घटनाका घटना बढिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
यही अवस्थालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले नियमित चेकजाँच, सचेतनामूलक कार्यक्रम तथा कडाइका साथ नियम कार्यान्वयन गर्ने नीति अघि सारेको छ ।
साथै, चालकहरूलाई ट्राफिक नियम पालना गर्न, सुरक्षित गति अपनाउन तथा सडक अनुशासन कायम राख्न निरन्तर आग्रह गरिएको छ ।

