काठमाण्डौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
बैठकमा सरकारका समसामयिक विषय, पछिल्लो राजनीतिक तथा प्रशासनिक गतिविधि, मन्त्रालयगत काम–कारबाहीको प्रगति र आवश्यक निर्णय प्रक्रियासम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।
नियमित कार्यसूचीसँगै सार्वजनिक सरोकारका मुद्दा तथा तात्कालीन निर्णय आवश्यक पर्ने विषयहरू पनि बैठकको एजेन्डामा समेटिने जनाइएको छ ।
प्रधानमन्त्री शाहले पछिल्ला दिनहरूमा सरकारको कामलाई अझ प्रभावकारी बनाउने, सेवा प्रवाह चुस्तदुरुस्त गर्ने तथा विकास निर्माणका परियोजनालाई तीव्रता दिने विषयमा जोड दिँदै आएका छन् ।
सोही सन्दर्भमा बस्न लागेको आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
सचिवालयका अनुसार बैठकमा मन्त्रालयहरूबाट आएका प्रस्तावहरू, नीतिगत निर्णय आवश्यक पर्ने विषय तथा समन्वय आवश्यक रहेका कामहरूको समीक्षा गरिनेछ ।
साथै, सरकारको प्राथमिकता प्राप्त कार्यक्रमहरूको कार्यान्वयन अवस्था र आगामी योजनाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ ।

