मंगलवार, श्रावण १९,२०८३ 01:03:13
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:03:13
Bizshala
Global IME Bank Limited

असिनासहितको वर्षापछि हुम्लाको नेप्कामा बाढी–पहिरो, भेडाबाख्रा र खेतीयोग्य जग्गामा क्षति, डाँफे आधारभूत विद्यालय बग्यो

असिनासहितको वर्षापछि हुम्लाको नेप्कामा बाढी–पहिरो, भेडाबाख्रा र खेतीयोग्य जग्गामा क्षति, डाँफे आधारभूत विद्यालय बग्यो
New Office

काठमाण्डौं ।  हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको भीषण बाढीपहिरोले ठूलो मात्रामा भौतिक संरचना, खेतीयोग्य जमिन र पशुधनमा क्षति पुर्‍याएको छ ।  

असिनासहितको भारी वर्षापछि एक्कासी आएको बाढी र पहिरोले गाउँ नै प्रभावित बनेको स्थानीयवासीहरूले बताएका छन् ।

स्थानीयका अनुसार रातिको समयमा अचानक आएको बाढीपहिरोले नेप्का गाउँमा व्यापक विनाश गरेको छ ।  

प्रारम्भिक विवरणअनुसार गाउँमा रहेको डाँफे आधारभूत विद्यालय पूर्ण रूपमा बगाएको छ ।  

विद्यालय भवन मात्र नभई आसपासका संरचनासमेत बाढीको चपेटामा परेर क्षतिग्रस्त बनेको स्थानीयले जानकारी दिएका छन् ।

त्यस्तै बाढीले गाउँभरिका खेतीयोग्य जमिनमा पनि ठूलो असर पारेको छ ।

विशेषगरी कोदो खेती गरिने खेतहरू बाढीले बगाएर पूर्ण रूपमा क्षतविक्षत बनाएको बताइएको छ ।  

स्थानीय कृषकहरूका अनुसार वर्षभरि मेहनत गरेर लगाइएको बालीसमेत नष्ट भएपछि ठूलो आर्थिक नोक्सानी भएको छ ।

चंखेली गाउँपालिका–५ का स्थानीय बासिन्दा छक्कबहादुर तामाङका अनुसार राति आएको बाढीले गाउँका विभिन्न बस्तीमा एकैपटक असर पारेको थियो ।  

उनका अनुसार बाढीको वेगले जमिन खोतल्दै खेत, बाटो र संरचना सबै बगाएको छ, जसले गाउँको दैनिक जीवन नै अस्तव्यस्त बनाएको छ ।

यसैबीच वडा अध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङका गोठसमेत पहिरोले पुरेको पुष्टि भएको छ ।  

ती गोठमा रहेका भेँडाबाख्रासहितका पशुधनमा क्षति पुगेको आशंका गरिएको भएपनि यकिन संख्या अझै प्राप्त हुन सकेको छैन ।  

स्थानीयले पशुधन ठूलो मात्रामा नष्ट भएको हुन सक्ने अनुमान गरेका छन् ।

वडाध्यक्ष हर्कधन तामाङले आफू गाउँपालिकाको केन्द्रमा रहेका बेला घटनाबारे जानकारी पाएको बताएका छन् ।

उनका अनुसार गोठ पुरिएको र पशुधनमा क्षति पुगेको प्रारम्भिक सूचना प्राप्त भएपनि पूर्ण विवरण आउन बाँकी छ ।  

उनले भने, “राति अचानक बाढी–पहिरो आएको रहेछ, मेरो र धनसिंह तामाङको गोठ पुरिएको खबर आएको छ, अहिले विस्तृत विवरण संकलन भइरहेको छ।”

उनका अनुसार गाउँमा धेरै खेतबारी पूर्ण रूपमा बगेर नष्ट भएका छन् ।

“कोदो खेती हुने जमिन सबैजसो तहसनहस भएको खबर आएको छ, तर रातिको घटना भएकाले क्षतिको यकिन विवरण अझै आउन सकेको छैन,” उनले बताए ।

घटनापछि स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय भएका छन् ।  

मेल्छाम प्रहरी चौकीबाट प्रहरी टोली बिहानै घटनास्थलतर्फ प्रस्थान गरेको छ ।  

तर, दुर्गम भूगोल, कठिन बाटो र यातायात सुविधा नहुँदा उद्धार तथा क्षति मूल्यांकन कार्यमा कठिनाइ भइरहेको जनाइएको छ ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले नेप्का गाउँ अत्यन्त दुर्गम क्षेत्रमा पर्ने भएकाले तत्काल विस्तृत विवरण प्राप्त गर्न कठिन भइरहेको बताएका छन् ।  

उनका अनुसार प्रारम्भिक सूचनामा ठूलो क्षति भएको देखिए पनि स्थलगत रूपमा पुष्टि हुन बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी रेग्मीले स्थानीय तह र प्रहरीमार्फत विवरण संकलनको काम भइरहेको जानकारी दिँदै अहिले उद्धार र मूल्यांकन दुवै प्रक्रिया चलिरहेको बताए ।

भौगोलिक रूपमा विकट रहेको चंखेली गाउँपालिका हुम्ला सदरमुकाम सिमकोटबाट उत्तरपूर्वमा पर्छ ।

यहाँ तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार वटा गाउँहरू रहेका छन् । नेप्का गाउँ वडा नम्बर ५ अन्तर्गत पर्दछ ।

यस क्षेत्रमा सडक सञ्जाल नहुँदा स्थानीयले जोखिमपूर्ण पहाडी बाटो हुँदै करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।  

यही दुर्गमताका कारण बाढीपहिरो जस्ता प्राकृतिक विपद्का बेला तत्काल राहत, उद्धार र सहायता पुर्‍याउन थप चुनौती उत्पन्न हुने गरेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.