काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा निर्वाचन प्रक्रिया, मतदाता व्यवस्थापन तथा वित्तीय संरचनासम्बन्धी महत्वपूर्ण विधेयकहरू अघि बढाइने सम्भावित कार्यसूची रहेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ तथा मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि ‘विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। साथै, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि पनि छलफल अघि बढाइनेछ।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त विधेयकमा प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने तथा विधेयक पारित गर्ने प्रस्तावसमेत कार्यसूचीमा समावेश गरिएको छ।

