मंगलवार, श्रावण १९,२०८३ 01:03:26
Bizshala
  • मंगलवार, श्रावण १९,२०८३ 01:03:26
Bizshala
Global IME Bank Limited

प्रधानमन्त्रीसँग प्रश्नोत्तर माग्दै विपक्षीद्वारा संसद् अवरोध गरेपछि सभामुखले गरे प्रधानमन्त्रीसँग छलफल

प्रधानमन्त्रीसँग प्रश्नोत्तर माग्दै विपक्षीद्वारा संसद् अवरोध गरेपछि सभामुखले गरे प्रधानमन्त्रीसँग छलफल
New Office

काठमाण्डौं । प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग नियमित प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गरेपछि राजनीतिक तनाव बढेको छ ।  

विपक्षीको अवरोधका कारण प्रतिनिधिसभा बैठक प्रभावित बनेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रत्यक्ष भेटवार्ता गरेका छन् ।

बिहीबार दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको निश्चित मिति सार्वजनिक गर्न माग गर्दै अवरोध सिर्जना गरेका थिए ।  

विपक्षीको लगातार नाराबाजी र विरोधपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।

बैठक स्थगित गरेलगत्तै सभामुखले प्रधानमन्त्री शाहसँग छलफल गरेका हुन् ।  

संसद् सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभा नियमावलीमा व्यवस्था भएअनुसार प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न गर्न पाउने व्यवस्था कार्यान्वयनमा नआएको विषयमा सभामुखले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीसँगको छलफलपछि सभामुखले विपक्षी दलका प्रमुख सचेतक र सचेतकहरूसँग पनि परामर्श गरेका थिए ।  

तर, दलहरूबीच सहमति जुट्न नसक्दा पौने ३ बजेका लागि स्थगित गरिएको बैठक साँझ सवा ४ बजेसम्म पनि सञ्चालन हुन सकेन ।  

संसद् भवनभित्र सत्ता पक्ष र विपक्षी दलबीच अनौपचारिक छलफल जारी रहे पनि गतिरोध अन्त्य हुन सकेको थिएन ।

विपक्षी दलहरूको मुख्य माग प्रतिनिधिसभा नियमावलीअनुसार प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अनिवार्य रूपमा सञ्चालन गरिनुपर्ने रहेको छ ।  

विपक्षी सांसदहरूले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने र सांसदहरूले उठाएका सार्वजनिक सरोकारका विषयमा प्रत्यक्ष जवाफ दिनुपर्ने बताएका छन् ।

संसद् बैठकमा ऐनबहादुर महर ले प्रधानमन्त्रीलाई संसद्प्रति जवाफदेही बनाउन प्रश्नोत्तर कार्यक्रम नियमित हुनुपर्ने बताएका थिए ।

उनले प्रधानमन्त्री संसद्मा उपस्थित भएर सांसदका जिज्ञासा र जनचासोका विषयमा स्पष्ट धारणा राख्नुपर्ने उल्लेख गरे ।

उनले प्रधानमन्त्री संसद्मा नियमित उपस्थित नभए कार्यपालिका स्वेच्छाचारी बन्न सक्ने भन्दै लोकतान्त्रिक प्रणालीमा संसद्को निगरानी र जवाफदेहिता अनिवार्य हुने तर्क गरेका थिए ।

एमालेले प्रधानमन्त्रीसँग प्रश्नोत्तरको मिति नतोकिएसम्म संसद् चल्न नदिने रणनीति लिएको एक सांसदले बताएका छन् ।

प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्रीसँग सांसदहरूले प्रत्यक्ष प्रश्न गर्न सक्ने व्यवस्था भएपनि पछिल्लो समय यस्तो कार्यक्रम नियमित रूपमा सञ्चालन हुन सकेको छैन ।  

विपक्षी दलहरूले यही विषयलाई लिएर सरकारमाथि संसद् छल्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन् ।

संसद् अवरोधका कारण बिहीबारको बैठकमा प्रस्तुत हुने सम्भावित विधेयक, प्रतिवेदन र अन्य कार्यसूची समेत प्रभावित भएका छन् ।  

संसद् बैठक सञ्चालनबारे सत्ता गठबन्धन र विपक्षी दलबीच सहमति जुटाउने प्रयास जारी रहेको संसद् सचिवालयले जनाएको छ ।

राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई लिएर देखिएको विवादले संसद्मा सरकार र विपक्षीबीचको बढ्दो अविश्वासलाई पनि उजागर गरेको छ ।  

विपक्षी दलहरूले संसद्लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको नियमित उपस्थितिलाई अनिवार्य शर्तका रूपमा अघि सारेका छन् भने सत्ता पक्ष सहमतिको प्रयासमा रहेको बताइएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.