काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । जेठ १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ८ औं विशेष साधारण सभा असार ३ गते काठमाण्डौको दरबारमार्गमा रहेको बैंकको मुख्य कार्यालयमा बिहान ९ बजे विद्युतीय माध्यम(जुम) र भौतिक रुपमा एकसाथ आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम रु. १०० का दरले २ अर्ब रुपैयाँबराबरको ‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिती अग्राधिकार सेयर’ निष्कासन गर्ने र यसका लागि बैंकको प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
बैंकको प्रबन्धपत्र संशोधन गर्ने प्रस्तावमा अग्राधिकार सेयर जारी गरी पूँजी परिचालन गर्ने, व्यवस्था थप गर्ने, बैंकको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि र संरचना संशोधन गर्ने विषय रहेका छन् ।
यस्तै सभामा समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने १ जना संस्थापक सेयरधनी र समूह ‘ख’बाट प्रतिनिधित्व गर्ने ३ जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्ने कार्यतालिका सहित प्रस्ताव १९ औं वार्षिक साधारण सभामा रहेकोमा सर्वोच्च अदालतको २०८२ मंसिर ११ अन्तरिम आदेशबमोजिम निर्वाचन प्रक्रिया रोकिएकोमा सो मुद्दा २०८२ चैत १५ गते अन्तिम आदेश फैसला भई रिट खारेज भएकाले रोकिएको सञ्चालकहरुको निर्वाचन प्रक्रिया कार्यान्वयन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि बैंकले जेठ २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

