–रविन ठकुरी
काठमाण्डौ । नेपालमा भारतीय पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्दै गएपछि काठमाण्डौ, पोखरा तथा चितवनको सौराहा लगायतका प्रमुख पर्यटकीय गन्तव्यका होटलहरू भरिभराउ हुन थालेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा मात्रै ४० हजारभन्दा बढी भारतीय पर्यटक नेपाल भ्रमणमा आएका छन्, जसले पर्यटन व्यवसायमा सकारात्मक ऊर्जा थपेको छ।
नेपाल आउने कुल विदेशी पर्यटकमध्ये भारतीय पर्यटकको हिस्सा सबैभन्दा ठूलो रहेको छ। धार्मिक, मनोरञ्जनात्मक तथा व्यावसायिक उद्देश्यले नेपाल भ्रमण गर्ने भारतीय नागरिकहरूको संख्या पछिल्लो समय तीव्र गतिमा वृद्धि भएको देखिन्छ। विशेषगरी धार्मिक पर्यटनमा भारतीय पर्यटकको उल्लेखनीय सहभागिता रहेको छ।
भारतबाट सबैभन्दा बढी पर्यटक
नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार मे महिनामा भारतबाट ४० हजार ७८२ जना पर्यटक नेपाल आएका छन्। भारतपछि चीनबाट ११ हजार ५१४, संयुक्त राज्य अमेरिकाबाट ९ हजार १, बङ्गलादेशबाट ५ हजार २९८, बेलायतबाट ३ हजार ३७५ तथा अष्ट्रेलियाबाट २ हजार ८७० जना पर्यटक नेपाल आएका छन्।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार भारतमा बढ्दो गर्मी, विद्यालय तथा कलेजहरूको बिदा, खुला सीमा व्यवस्था तथा नेपाल सस्तो र सहज गन्तव्य हुनु भारतीय पर्यटकको आगमन बढ्नुका प्रमुख कारण हुन्।
नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट दिलीप प्रकाश कार्कीका अनुसार भारत र नेपालबीचको खुला सीमा, सहज आवागमन तथा क्षेत्रीय परिस्थितिले पनि भारतीय पर्यटकलाई नेपालतर्फ आकर्षित गरेको छ।
होटल व्यवसायमा चाप
भारतीय पर्यटकको बढ्दो आगमनसँगै काठमाण्डौ, पोखरा र चितवनका होटलहरूको अकुपेन्सी दर उच्च बनेको छ। विशेषगरी गर्मी छल्न आउने पर्यटकको संख्या बढेपछि पोखराका धेरै होटलहरूमा कोठा अभावको अवस्था देखिन थालेको छ।
होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहका अनुसार भारतका विभिन्न राज्यहरूमा अत्यधिक गर्मी तथा ‘हिटवेभ’ को प्रभावका कारण नेपाली पर्यटकीय गन्तव्यहरू भारतीय पर्यटकको रोजाइमा परेका छन्।
उनले भने, ‘नेपालको मौसम तुलनात्मक रूपमा सहज भएकाले भारतीय पर्यटकहरू गर्मीबाट राहत खोज्दै नेपाल आइरहेका छन्। यसले होटल व्यवसायलाई प्रत्यक्ष लाभ पुर्याएको छ।’
भारतीय पर्यटकको आर्थिक योगदान
नेपाल आउने भारतीय पर्यटकहरू धार्मिक भ्रमण, मनोरञ्जन, गोष्ठी, सम्मेलन तथा व्यावसायिक कार्यक्रमहरूमा सहभागी हुने उद्देश्यले नेपाल आउने गरेका छन्। औसत रूपमा भारतीय पर्यटकले नेपालमा करिब १३ दिन बसोबास गर्ने र प्रतिदिन ४१ अमेरिकी डलर बराबर खर्च गर्ने अनुमान गरिएको छ।
यस आधारमा मे महिनामा आएका ४० हजारभन्दा बढी भारतीय पर्यटकले मात्रै नेपालको अर्थतन्त्रमा तीन अर्ब रुपैयाँभन्दा बढी योगदान पुरेयाएको अनुमान गरिएको छ। पर्यटन व्यवसायीहरूका अनुसार भारतीय पर्यटकको बढ्दो उपस्थितिले होटल, यातायात, रेस्टुरेन्ट तथा स्थानीय व्यापारमा सकारात्मक प्रभाव पारेको छ।
दीगो पर्यटन प्रवर्द्धनमा जोड
पर्यटन क्षेत्रका सरोकारवालाहरूले हाल देखिएको पर्यटक आगमनलाई दीगो बनाउन दीर्घकालीन रणनीति आवश्यक रहेको बताएका छन्। होटल एसोसिएसन नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।
नेपालका होटल तथा पर्यटन पूर्वाधारले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता विकास गरिसकेको उल्लेख गर्दै हानले आगामी वर्षहरूमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित योजना बनाउनुपर्ने सुझाव दिएको छ।
पाँच महिनामा १ लाख ३७ हजार भारतीय पर्यटक
नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म कुल ५ लाख २९ हजार ९० जना विदेशी पर्यटक नेपाल आएका छन्। यस अवधिमा १ लाख ३७ हजार ७५ जना भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २५।९ प्रतिशतले बढी हो।
पर्यटन व्यवसायीहरूका अनुसार भारतीय पर्यटकको निरन्तर बढ्दो आगमनले नेपालको पर्यटन उद्योग पुनरुत्थानमा महत्वपूर्ण भूमिका खेलेको छ। यदि यस प्रवृत्तिलाई दीगो रूपमा व्यवस्थापन गर्न सकियो भने पर्यटन क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा अझ ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।

