काठमाण्डौ । सरकारले पूँजी जुटाउनने उदेश्यसहित यहि वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ । लगानी बोर्डको आयोजनमा हुन लागेको यस सम्मेलनमा अन्तराष्ट्रिय लगानीकर्ताहरु उपस्थित हुनेछन् ।
तर पूँजीबजारका स्वदेशी लगानीकर्ताहरु भने लामो समयदेखि घटिरहेको सेयर बजारलाई बेवास्ता गर्दै सरकारले गर्न गईरहेको लगानी सम्मेलनमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सेयर बजार घटे पछि सरकारले स्वदेशकै लगानीकर्ताहरुलाई निरुत्साहित पारेको भन्दै उनीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । अर्थमन्त्रीले अर्थ मन्त्रालय सम्हाले पछि ढुक्कसंग सेयरमा लगानी गर्न भनेको र सुझाव पनि मागेर बेवास्ता गरेको लगानीकर्ताहरुले आरोप लगाएका छन् ।
तर अर्थमन्त्रालयका प्रवक्ता उत्तर कुमार खत्रीले सरकार अहिले बजेटको तयारीमा रहेको र बजेटमार्फत नै लगानीकर्ताहरुको माग सम्बोधन हुने बताए । खत्रीले भने ‘पूँजीबजार भनेको घटबढ हुने ठाँउ हो । नेपाल सरकार पूँजीबजारको विषयमा गम्भीर छ । हामीले स्वदेशी लगानीकर्ताहरुका समस्या दीर्घकालिन रुपमा समधान हुने गरि बजेटमार्फत सम्बोधन गछौ । अहिले लगानी सम्मेलन हुन वातावरण बनाउनु सबैको कर्तव्य हो ।’
केही समय पहिले अर्थमन्त्रीद्वारा मागिएका सुझावका विषयमा भने केही कानून संशोधन गरेर मात्रै सम्बोधन गर्नु पर्ने भएकाले ढिलाइ भईरहेको खत्रीले बिजशालालाई जानकारी दिए ।
उता सेयर बजारका अगुवा लगानीकर्ता उपेन्द्र पाठक भने सरकारको उधारो आश्वासनप्रति विश्वास गर्न नसकिने बताउँछन् । उनले भने,‘अर्थमन्त्रालय स्वयमले नै गर्न सक्ने काम जस्तै नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोष जस्ता संस्थाहरुलाई बुक भ्यालु भन्दा तल आएका कम्पनी खरिद गर भनेर भन्न किन नसकेको ?’
अर्थ मन्त्रालयले आफुले गर्न सक्ने काम पनि गर्न नसकेको पाठकले आरोप लगाए । ‘हामीले विभिन्न माध्यमबाट लगानी सम्मेलन बहिष्कार गर्ने काम गछौं । यसका लागि विभिन्न बैंकर तथा ब्रोकरहरुको पनि हामीलाई साथ र समर्थन छ । हामीले आन्दोलनका लागि सामजिक सञ्जाललाई प्रयोग गर्ने योजना बनाएका छौं,’ उनले भने । अर्थ मन्त्रीले सार्वजनिक रुपमा नै लगानीकर्ताहरुको समस्या सम्बोधन गर्नु पर्ने पनि पाठकले जोड दिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                