काठमाण्डौ । मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण प्रमुख राजमार्ग र भित्री सडक खण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ। सोमबार बिहान ८ बजेसम्म प्राप्त विवरण अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडकहरूमा यातायात अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा रहेको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्ड (बीपी राजमार्ग) बाढी जोखिमका कारण जेठ २२ गतेदेखि पूर्ण रूपमा बन्द गरिएको छ। त्यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत पर्ने कुलेखानी–फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्ड सडक मर्मत कार्यका कारण जेठ १५ गतेदेखि अवरुद्ध छ, र यो सडक जेठ २५ गतेसम्म बन्द रहने जनाइएको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिममा असार १७ गते आएको बाढीले आठबीसकोट नगरपालिका–६ स्थित रिजेगार्ड खोलामा भेरी करिडोर पूर्ण रूपमा अवरुद्ध बनाएको छ।
गण्डकी प्रदेशमा पर्वतको फलेवास नगरपालिका–९, उल्लेरीस्थित भंगरा–थापाठाना भित्री सडक पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। यस्तै, स्याङ्जाको वालिङ नगरपालिका–१४, डुम्रिभञ्ज्याङस्थित वालिङ–हुवास भित्री सडक पहिरो पन्छाएपछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
लुम्बिनी प्रदेशको रोल्पा, परिवर्तन गाउँपालिका–१, खोलावाङ क्षेत्रमा असार २० गते गएको पहिरोका कारण घोराही–रुकुम सहिद मार्ग प्रभावित बनेको भए पनि हाल उक्त सडक एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
कोशी प्रदेशको भोजपुर नगरपालिका–५, बोखिम क्षेत्रमा वैशाख १२ गते आएको बाढीले मध्य पहाडी लोकमार्ग अवरुद्ध बनाएकोमा हाल उक्त सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ। सो मार्ग प्रयोग गर्ने यात्रुहरूका लागि वैकल्पिक मार्गको समेत व्यवस्था गरिएको जनाइएको छ।

