काठमाण्डौ । आरएमसी ग्रुपअन्तर्गत सञ्चालित आरएमसी फुड्स प्रालिले एकै सातामा दुईवटा महत्वपूर्ण राष्ट्रिय सम्मान प्राप्त गरेको छ। कम्पनीले उत्कृष्ट करदाता र उत्कृष्ट स्वदेशी निर्यातकर्ताको सम्मान पाएको हो।
कम्पनी आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरअन्तर्गत उद्योगतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको हो। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा मुलुकबाट सबैभन्दा बढी रकमको वस्तु तथा सेवा निर्यात गर्ने स्वदेशी कम्पनीका रूपमा समेत सम्मानित भएको छ।
मंसिर ७ गते राष्ट्रिय कर दिवस–२०८३ का अवसरमा आयोजित कार्यक्रममा कम्पनीलाई उत्कृष्ट करदाताको सम्मान प्रदान गरिएको थियो। आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरका प्रमुख कर अधिकृत मुकुन्द पोखरेल र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालद्वारा संयुक्त रूपमा हस्ताक्षरित सम्मानपत्र कम्पनीका निर्देशक यश अग्रवाललाई हस्तान्तरण गरिएको थियो।
त्यसैगरी, मंसिर ९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको १२औँ राष्ट्रिय उद्योग दिवसको मूल समारोहमा कम्पनीलाई ‘उत्कृष्ट स्वदेशी निर्यातकर्ता’ का रूपमा सम्मान गरिएको हो।
भन्सार विभागको सिफारिसका आधारमा प्रदान गरिएको उक्त सम्मान उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले हस्तान्तरण गरेका थिए भने मन्त्रालयका सचिव रुद्रसिंह तामाङले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
आरएमसी फुड्सले बाराको जीतपुरस्थित अत्याधुनिक उद्योगमार्फत न्यूट्रिप्लस (Nutriplus) ब्रान्डका प्रशोधित खाद्य तेललगायत विभिन्न खाद्य सामग्री उत्पादन तथा निर्यात गर्दै आएको छ।
नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्षसमेत रहेका आरएमसी ग्रुपका राजेशकुमार अग्रवालले प्राप्त सम्मानले स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि थप प्रोत्साहन मिलेको बताए।
‘नेपाल सरकारबाट प्राप्त यो सम्मानले हामीलाई स्वदेशी उत्पादनको गुणस्तर अभिवृद्धि गर्न र अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहुँच विस्तार गर्न थप ऊर्जा प्रदान गरेको छ,’ अग्रवालले भने, ‘देशको व्यापार घाटा न्यूनीकरण तथा दिगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धनमा हाम्रो प्रतिबद्धता सधैँ अग्रपंक्तिमा रहनेछ।’


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।