काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा भित्रिएका पुराना भारतीय लगानीको अभिलेखीकरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन्।
बुधबार १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै ढकालले आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका कतिपय विदेशी लगानीको उचित अभिलेखीकरण नहुँदा लगानीकर्ताले विभिन्न समस्या भोगिरहेको बताए।
विशेषगरी भारतीय लगानीकर्ताले पुरानो लगानीको अभिलेखीकरण नहुँदा व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, लगानीको प्रतिफल लैजान तथा व्यवसायबाट बाहिरिनसमेत कठिनाइ भोग्नुपरेको उनको भनाइ थियो।
‘उद्योग प्रवर्द्धन बोर्डमार्फत एकपटकका लागि यस्ता पुराना लगानीको अभिलेखीकरणको गाँठो फुकाइदिने हो भने नेपालमा कार्यरत विदेशी लगानीकर्तामा सकारात्मक सन्देश जानेछ,’ ढकालले भने, ‘यसले नयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउनसमेत ठूलो सहयोग पुग्नेछ।’
उनले यस विषयमा उद्योगमन्त्री र मन्त्रालयका सचिवको विशेष ध्यानाकर्षण गराए।
कार्यक्रममा ढकालले सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढाएको नीतिगत सुधारको प्रशंसासमेत गरे। वर्तमान सरकारले पहिलो मन्त्रिपरिषद् बैठकबाटै ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ पारित गर्नु सकारात्मक कदम भएको उनको भनाइ थियो।
रोजगारी सिर्जना, राजस्व संकलन र पूर्वाधार विकासमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले सरकारले ५९ वटाभन्दा बढी कानुन संशोधनका लागि चालेको कदमको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
उद्योग मन्त्रालय र उद्योग विभागले सेवा प्रवाहमा गरेको सहजीकरण तथा डिजिटलाइजेसनको प्रशंसा गर्दै ढकालले लगानीमैत्री वातावरण निर्माणका लागि नीतिगत सुधारलाई अझ तीव्रता दिनुपर्ने बताए।
‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित आयोजित कार्यक्रममा उद्योगमन्त्री, मन्त्रालयका उच्च अधिकारी, राष्ट्रिय योजना आयोगका प्रतिनिधि तथा निजी क्षेत्रका विभिन्न संघसंस्थाका पदाधिकारीहरूको सहभागिता थियो।
सो अवसरमा ढकाललाई सम्मानसमेत गरिएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।