काठमाण्डौ। नेपाली बजारमा प्रोटोन ईमास ५ सार्वजनिक भएको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रोटोन ईमास ५ सार्वजनिक गरेको हो।
ईमास ५ नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुनेछ — प्राइम र प्रिमियम। दुवैको बाह्य डिजाइन, इन्टेरियर लेआउट र आधारभूत फिचर उस्तै भए पनि ब्याट्री क्षमता, रेन्ज र पर्फर्मेन्समा भने स्पष्ट भिन्नता छ। प्राइम भेरियन्ट पहिलोपटक ईभी किन्न चाहनेका लागि सुलभ र व्यावहारिक विकल्पको रूपमा ल्याइएको हो।
यसमा ३०.१२ किलोवाट प्रतिघण्टाको ब्याट्री जडान गरिएको छ, जसले डब्लुएलटीपी मापदण्ड अनुसार सिंगल चार्जमा २२५ किलोमिटरसम्मको रेन्ज दिन्छ। यसमा ५८ किलोवाट क्षमताको मोटर छ भने चार्जिङका लागि ६.६ किलोवाट एसी र ५३ किलोवाट डीसी सपोर्ट गर्छ। यो गाडीले शून्यबाट ५० किलोमिटर प्रतिघण्टाको गति मात्र ४.४ सेकेन्डमा लिन सक्छ।
अझ शक्तिशाली र लामो दूरीका यात्राका लागि उपयुक्त मानिने प्रिमियम भेरियन्टमा भने ४०.१६ किलोवाट प्रतिघण्टाको ब्याट्री राखिएको छ, जसले सिंगल चार्जमा ३२५ किलोमिटरसम्मको रेन्ज दिन सक्छ।
यसमा ८५ किलोवाटको बलियो मोटर जडान गरिएको छ, जसका कारण यो गाडीले शून्यबाट ५० किमी प्रतिघण्टाको गति ३.९ सेकेन्डमै लिन सक्छ।
चार्जिङका हिसाबले प्रिमियम भेरियन्टले ७१ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ, जसका कारण ३० देखि ८० प्रतिशतसम्मको ब्याट्री जम्मा २०–२१ मिनेटमै चार्ज गर्न सकिन्छ।
आकारका हिसाबले दुवै भेरियन्टको लम्बाइ ४,१३५ मिलिमिटर, चौडाइ १,८०५ मिलिमिटर र उचाइ १,५८० मिलिमिटर रहेको छ, जबकि ह्विलबेस २,६५० मिलिमिटर छ। यो आकारले गाडीलाई साँघुरा सहरी सडक र पार्किङमा चलाउन सजिलो बनाउने गरी डिजाइन गरिएको देखिन्छ, तर साथसाथै इन्टेरियरमा पर्याप्त फराकिलोपन र आरामदायी क्याबिन अनुभव पनि दिन्छ।
रियर(ह्विल)ड्राइभ प्रणालीले गाडीलाई राम्रो ह्यान्डलिङ र सन्तुलित ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ, जुन सामान्यतया यस मूल्य वर्गका इलेक्ट्रिक गाडीमा कमै पाइने विशेषता हो।
फिचरका हिसाबले दुवै भेरियन्टमा १४।६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, ६ वटा एयरब्याग र ३६० डिग्री क्यामेरा प्रणाली समावेश छन्।
बुट स्पेसको हकमा यसमा ३७५ लिटरको ठाउँ छ, जसलाई पछाडिको सिट फोल्ड गरेर १,३२० लिटरसम्म विस्तार गर्न सकिन्छ। यसबाहेक गाडीको अगाडिपट्टि थप ७० लिटरको फ्रंक स्टोरेज पनि दिइएको छ, जसले सामान बोक्ने क्षमतालाई थप बढाउँछ।
समग्रमा हेर्दा, प्रोटोन ईमास ५ ले नेपाली ईभी बजारमा दुई फरक ग्राहक वर्गलाई लक्षित गरेको देखिन्छ। प्राइम भेरियन्ट पहिलोपटक इलेक्ट्रिक गाडी किन्न चाहने र बजेट सचेत ग्राहकका लागि सुलभ प्रवेशद्वारको रूपमा ल्याइएको छ भने, प्रिमियम भेरियन्ट थप रेन्ज, शक्ति र लक्जरी खोज्ने ग्राहकका लागि उपयुक्त विकल्पको रूपमा प्रस्तुत गरिएको छ।
रियर(ह्विल)ड्राइभ प्रणाली, प्रतिस्पर्धी मूल्य र आधुनिक फिचरका कारण यो गाडीले नेपाली ईभी बजारमा राम्रै प्रतिस्पर्धा दिने अपेक्षा गर्न सकिन्छ।

