काठमाण्डौ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेका इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामालाई थप अनुसन्धानका लागि १० दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले दुवै जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान सुरु गरेको छ। यसअघि प्रहरीले उनीहरूमाथि ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो। सशस्त्र प्रहरी बलको पत्रका आधारमा उनीहरू गत असार २० गते पक्राउ परेका थिए।
सशस्त्र प्रहरी बलले गरेको आन्तरिक छानबिनमा विद्यालयको रकम हिनामिना इन्सपेक्टर कल्पना गुरुङको योजनामा भएको निष्कर्ष निकालिएको छ। छानबिनका क्रममा विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिगबिजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेको समेत गम्भीर लापरबाही देखिएको बताइएको छ।

