काठमाण्डौ । देशका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। सोमबार बिहान ६ः४० बजेसम्मको विवरणअनुसार विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा यात्रुहरू समस्यामा परेका छन्।
सडक विभाग तथा सम्बन्धित निकायका अनुसार बागमती प्रदेशमा सडक अवरोधको असर बढी देखिएको छ। काभ्रेपलाञ्चोकस्थित बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेशी क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ। सोही राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी खण्डमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै राति ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशीस्थित चारकिलो र कोदारी क्षेत्रमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–स्थित खाल्टेमा आएको बाढीले त्रिशूली–मैलुङ–स्याफ्रुबेशी सडक खण्ड ठप्प भएको छ।
दोलखाको लामासाँघु–रामेछाप सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द भए पनि वैकल्पिक मार्ग प्रयोग गरी सवारी सञ्चालनमा ल्याइएको छ। चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत सिमलताल क्षेत्रमा भने यातायात सेवा नियमित भएको छ।
कोशी प्रदेशमा पनि वर्षाका कारण सडक प्रभावित भएका छन्। इलामको राजदुवाली क्षेत्रमा पहिरो खस्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यहाँ वैकल्पिक बाटोमार्फत सवारी सञ्चालनको व्यवस्था मिलाइएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुरको बोखिम र खोटाङको माम्खामा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशमा म्याग्दीको बेनी–जोमसोम सडक खण्डअन्तर्गत बैसेरी र सुकेबगर क्षेत्रमा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ। बागलुङस्थित कालीगण्डकी करिडोरको बेलबगरमा भने पहिरो हटाएर एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ।
लुम्बिनी प्रदेशमा रोल्पाको खोलावाङमा पहिरो खस्दा घोराही–थवाङ सहिद राजमार्ग अवरुद्ध भएको छ। पाल्पाको सिद्धबाबा क्षेत्रमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग पनि पूर्ण रूपमा बन्द भएको छ।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबीसकोट क्षेत्रमा आएको बाढीले भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्ड अवरुद्ध बनाएको छ। मुगुको झ्यारी खोलामा पहिरो खस्दा नाग्म–गमगढी सडक खण्ड पनि ठप्प भएको छ।
अवरुद्ध सडकहरू खुलाउने कार्य भइरहेको सम्बन्धित निकायले जनाएको छ। निरन्तर वर्षाका कारण जोखिम बढेकाले जोखिमयुक्त सडकमा यात्रा गर्दा विशेष सावधानी अपनाउन तथा यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न यात्रु र चालकलाई आग्रह गरिएको छ।

