काठमाण्डौ । सामसङ नेपालले नयाँ पुस्ताका फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा’, ‘ग्यालेक्सी जेड फोल्ड ८’ र ‘ग्यालेक्सी जेड फ्लिप ८’ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ पनि एकसाथ सार्वजनिक गरेको हो।
आठौँ पुस्ताका यी फोल्डेबल स्मार्टफोनमा नयाँ ग्यालेक्सी एआई अनुभव समावेश गरिएको छ। ठूला डिस्प्ले भएका फोल्ड ८ अल्ट्रा र फोल्ड ८ ले प्रयोगकर्तालाई बारम्बार एप परिवर्तन नगरी सामग्री समीक्षा तथा तुलना गर्न, सिर्जना गर्न र आवश्यक काम गर्न सहज बनाउने कम्पनीको दाबी छ।
कम्प्याक्ट डिजाइनको ग्यालेक्सी जेड फ्लिप ८ लाई भने छिटो एआई अन्तरक्रिया र रचनात्मक प्रयोगमा केन्द्रित गरिएको छ। नयाँ ग्यालेक्सी वाच लाइनअपले कनेक्टेड स्वास्थ्य तथा वेलनेस अनुभवलाई थप विस्तार गर्ने सामसङले जनाएको छ।
सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङले परम्परागत स्मार्टफोनले एआईलाई एउटा झ्याल दिने भए पनि फोल्डेबल फोनले एआईका लागि फराकिलो कार्यस्थल उपलब्ध गराउने बताए।
‘नयाँ ग्यालेक्सी जेड सिरिजमार्फत हाम्रो उद्देश्य नेपालमा प्रिमियम प्रविधि भित्र्याउनु मात्र नभई सम्पूर्ण स्वामित्व यात्रालाई अझ स्मार्ट बनाउनु हो,’ उनले भने, ‘साझेदारहरूसँग मिलेर नेपाली ग्राहकलाई थप विकल्प, दीर्घकालीन मूल्य र नयाँ सम्भावना दिन चाहन्छौँ।’
४० प्रतिशत डाउन पेमेन्टमा २४ महिनाको किस्ता
नयाँ स्मार्टफोन खरिदलाई सहज बनाउन कम्पनीले हुलास फिनसर्भ लिमिटेडमार्फत ४० प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको मासिक किस्ताबन्दी सुविधा उपलब्ध गराउने भएको छ। योग्य ग्राहकका लागि भविष्यमा डाउन पेमेन्ट २० प्रतिशतसम्म घटाएर किस्ता अवधि ३६ महिनासम्म पुर्याउने लक्ष्य राखिएको छ।
कम्पनीले पुराना उपकरण साटेर नयाँ फोन लिन चाहने ग्राहकका लागि ट्रेड–इन सुविधा पनि ल्याएको छ। यसअन्तर्गत योग्य उपकरणको व्यवस्थित परीक्षण र मूल्यांकन गरी ग्राहकलाई एक्सचेन्ज मूल्य प्रदान गरिनेछ। पुराना उपकरणलाई सम्भव भएसम्म मर्मत गरी पुनः प्रयोगमा ल्याउने र विद्युतीय फोहोर घटाउने कम्पनीको योजना छ।
सामसङले एचएफएल, ईसेवा, एनसेल, एपकुडो, रेमिट्यान्स साझेदार, आईएमएस तथा हिम इलेक्ट्रोनिक्सलाई एउटै प्रणालीमा जोडेर फाइनान्सिङ, कनेक्टिभिटी, ट्रेड–इन, रिवार्ड र बिक्री सेवा उपलब्ध गराउने जनाएको छ।
आईएमएस र हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा ग्राहकले डिजिटल योग्यता परीक्षण, सुविधा छनोट, प्रि–अर्डर, डेलिभरी तथा सामसङ ब्रान्ड स्टोरबाट उपकरण प्राप्त गर्नेसम्मका प्रक्रिया एउटै माध्यमबाट पूरा गर्न सक्नेछन्।
प्रि–अर्डरमा ६८ हजार रुपैयाँसम्म लाभ
नयाँ ग्यालेक्सी जेड सिरिजको प्रि–अर्डर अगस्ट १३ देखि खुला गरिएको छ। कम्पनीले भीआईपी प्रि–अर्डर प्याकेजमा ६८ हजार रुपैयाँसम्म र सामान्य प्रि–अर्डर प्याकेजमा ५८ हजार रुपैयाँसम्मका लाभ उपलब्ध हुने जनाएको छ।
प्रि–अर्डर गर्ने ग्राहकले दुई वर्षका लागि एनसेलको अनलिमिटेड डेटा तथा भ्वाइस प्याक, १५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, ६ महिनाको गुगल एआई प्रो सेवा र फोन कभर प्राप्त गर्नेछन्।
भीआईपी प्याकेजका ग्राहकले ग्यालेक्सी वाच ९ वा वाच अल्ट्रा २ खरिद गर्दा थप १० हजार रुपैयाँ छुट पाउनेछन्। शुल्क तिरेर दुई वर्षको थप वारेन्टी लिन सकिने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ। यी सुविधा स्टक उपलब्ध रहुन्जेल लागू हुनेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।