काठमाडौं । नेपाली डिजिटल मनोरञ्जन बजारमा अन्तर्राष्ट्रिय सामग्रीको पहुँच विस्तार गर्दै ओटीटी प्लेटफर्म डिगोले जिओहटस्टारसँग साझेदारी गरेको छ। यससँगै नेपाली दर्शकले डिगोको एउटै सब्स्क्रिप्सनबाट जिओहटस्टारका चलचित्र तथा सिरिज, नेपाली चलचित्र र प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुद हेर्न पाउने भएका छन्।
कात्तिक १ गते जारी विज्ञप्तिअनुसार जिओहटस्टारका सामग्री समेटिएको सेवा विशेष सुरुवाती मूल्यमा मासिक २४९ रुपैयाँबाट उपलब्ध हुनेछ। छुट्टाछुट्टै मनोरञ्जन सामग्रीका लागि दर्शक तान्ने प्रतिस्पर्धाबीच डिगोले भारतीय र नेपाली सामग्रीसँगै खेलकुदलाई एउटै सदस्यतामा समेटेर आफ्नो सेवा विस्तार गरेको हो।
यो साझेदारीअन्तर्गत डिगोभित्र जिओहटस्टारको छुट्टै खण्ड तयार गरिएको छ। त्यसमा चलचित्र, मौलिक सिरिज, दैनिक टेलिभिजन कार्यक्रम, रियालिटी शो र बालबालिकाका सामग्री उपलब्ध हुने कम्पनीले जनाएको छ।
‘१२थ फेल’देखि ‘स्पेसियल अप्स’सम्म
सुरुवाती सामग्री सूचीमा ‘भेडिया’, ‘१२थ फेल’, ‘केसरी च्याप्टर २’, ‘सुपर ३०’ र ‘वेलकम टु द जंगल’ लगायतका चलचित्र समावेश रहेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, ‘हुंकार’, ‘प्रितम एण्ड पेड्रो’, ‘अलि बाबा और ४० भूत’, ‘स्पेसियल अप्स’ र ‘चिरैया’ लगायतका जिओहटस्टार ओरिजिनल पनि उपलब्ध हुनेछन्। रियालिटी तथा मनोरञ्जनात्मक कार्यक्रमतर्फ ‘बिग बोस’, ‘कफी विथ करण’ र ‘इन्डिया का टप १ पर्सेन्ट’ समेटिएका छन्।
हिन्दी भाषामा उपलब्ध क्षेत्रीय चलचित्रसमेत थपिएकाले दर्शकले विभिन्न विधा र क्षेत्रका सामग्री एउटै प्लेटफर्ममा हेर्न सक्ने कम्पनीको भनाइ छ।
कुन योजनाको कति शुल्क?
डिगोले जिओहटस्टारका सामग्री हेर्न मोबाइल र प्लस गरी दुई योजना सार्वजनिक गरेको छ। विशेष सुरुवाती मूल्यअनुसार शुल्क यस्तो छः
| अवधि | मोबाइल प्लान | प्लस प्लान |
|---|---|---|
| एक महिना | रु. २४९ | रु. ३९९ |
| तीन महिना | रु. ६९९ | रु. ८९९ |
| एक वर्ष | रु. २,४९९ | रु. २,६९९ |
दर्शकले www.watchdgo.com तथा आईओएस, एन्ड्रोइड, एन्ड्रोइड टिभी र स्मार्ट टिभीमा उपलब्ध डिगो एपमार्फत सदस्यता लिन सक्नेछन्।
नेपालमा खल्ती, इसेवा, गेटपे, कनेक्टआईपीएस र फोनपेमार्फत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ। विदेशमा रहेका दर्शकका लागि अन्तर्राष्ट्रिय कार्ड तथा सीमापार भुक्तानीका विकल्प उपलब्ध छन्।
हरेक साता नेपाली चलचित्र, सदस्यतामै अन्तर्राष्ट्रिय खेलकुद
जिओहटस्टारका सामग्री थपिएसँगै नेपाली चलचित्र र कार्यक्रमको संग्रह पनि विस्तार गर्ने डिगोको योजना छ। स्थानीय कथावाचनलाई प्राथमिकता दिँदै प्रत्येक साता नयाँ नेपाली चलचित्र थप्ने कम्पनीले घोषणा गरेको छ।
सदस्यतामा ला लिगा, मोटो जीपी र काराबाओ कपलगायतका प्रत्यक्ष अन्तर्राष्ट्रिय खेलकुद पनि समेटिएका छन्। कम्पनीका अनुसार यी सामग्री हेर्न सम्बन्धित डिगो सदस्यताबाहेक अतिरिक्त शुल्क तिर्नुपर्ने छैन।
यसले चलचित्र र सिरिज हेर्ने दर्शकसँगै खेलकुदका प्रशंसकलाई पनि एउटै प्लेटफर्ममा जोड्ने डिगोको व्यावसायिक रणनीति देखाउँछ।
नेपाललाई विस्तारको महत्वपूर्ण बजार मान्दै जिओहटस्टार
जिओस्टारका अन्तर्राष्ट्रिय व्यापार प्रमुख अमित मल्होत्राले भारतीय चलचित्र, टेलिभिजन कार्यक्रम र कलाकारसँग नेपाली दर्शकको लामो सम्बन्ध रहेकाले नेपाल अन्तर्राष्ट्रिय विस्तारको महत्वपूर्ण हिस्सा भएको बताएका छन्।
उनका अनुसार डिगोसँगको सहकार्यले जिओहटस्टारका मनोरञ्जन सामग्रीलाई स्थानीय प्लेटफर्मको सहजतासँग जोडेको छ। यसबाट नेपाली दर्शकलाई थप विकल्प उपलब्ध गराउँदै घरपरिवारको दैनिक मनोरञ्जनमा उपस्थिति विस्तार गर्ने कम्पनीको लक्ष्य छ।
डिगोका प्रमुख कार्यकारी अधिकृत रोशन निरालाले साझेदारीलाई कम्पनी र नेपालको मनोरञ्जन उद्योगका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। जिओहटस्टारका चलचित्र तथा कार्यक्रम, साप्ताहिक रूपमा थपिने नेपाली चलचित्र र प्रत्यक्ष खेलकुदमार्फत दर्शकलाई नियमित रूपमा नयाँ सामग्री उपलब्ध गराउने उद्देश्य रहेको उनको भनाइ छ।
१३ लाख दर्ता प्रयोगकर्ता रहेको डिगोको दाबी
कम्पनीले उपलब्ध गराएको विवरणअनुसार डिगोमा १३ लाख दर्ता प्रयोगकर्ता र तीन लाख ५० हजार मासिक सक्रिय प्रयोगकर्ता छन्। यसको दर्शक पहुँच १५ भन्दा बढी देशमा रहेको जनाइएको छ।
डिगो नेपाल प्रिमियर लिगको पहिलो र दोस्रो संस्करणको आधिकारिक डिजिटल स्ट्रिमिङ साझेदार रहेको तथा फिफा विश्वकप २०२६ का १०४ वटै खेल नेपालमा डिजिटल प्रसारण गरेको प्लेटफर्म भएको विज्ञप्तिमा उल्लेख छ।
जिओहटस्टारले भने आफ्नो विश्वव्यापी सेवामा ५० करोड मासिक सक्रिय प्रयोगकर्ता र तीन लाख घण्टाभन्दा बढी सामग्री रहेको जनाएको छ। बेलायत, क्यानडा, सिंगापुर तथा मध्यपूर्व र उत्तर अफ्रिकापछि नेपालमा साझेदारीमार्फत उपस्थिति विस्तार गरिएको कम्पनीको भनाइ छ।
नेपाली सामग्री, भारतीय मनोरञ्जन र अन्तर्राष्ट्रिय खेलकुदलाई एउटै शुल्क संरचनामा समेट्ने यो साझेदारीसँगै डिगोले नेपालको ओटीटी बजारमा आफ्नो प्रतिस्पर्धात्मक उपस्थिति थप बलियो बनाउने प्रयास गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।