-सुजता थापा
काठमाण्डौ । भृकुटीमण्डपमा जारी १८औँ ‘नाडा अटो शो २०२६’ मा चारपाङ्ग्रे सवारीसाधनसँगै दुई पाङ्ग्रे सवारी (टु ह्विलर)प्रति पनि अवलोकनकर्ताहरूको आकर्षण देखिएको छ ।
यसपटकको प्रदर्शनीमा नेपालमै उत्पादित तथा एसेम्बल भएका वस्तुहरूलाई विशेष प्राथमिकता दिइएको छ । नाडा अटो शोमा नेपाली बजारमा लोकप्रिय बनेको विभिन्न टु ह्वीलर ब्रान्डका सवारीहरु राखिएका छन् ।
शो मा रोयल इन्फिल्ड, नेपाली ब्राण्डको यात्री पी–२, हिरो, यामाहा रेसिङ, भेस्पा र अप्रिलिया, एम्पियर, मेटाइभी, रिभोल्ट जस्ता ब्रान्डहरूको स्टल राखिएका छन् ।
यसपटक टु ह्वीलर सेक्सनमा विशेषगरी नेपाली ब्रान्ड यात्री र प्रिमियम इलेक्ट्रिक तथा क्लासिक ब्रान्डहरूमा अवलोकनकर्ताहरूको अत्यधिक भीड लागेको छ ।
नेपाली उत्पादनप्रतिको आकर्षण विशेष गरी नेपालमै विकसित र एसेम्बल गरिएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ को प्रदर्शनले दर्शकहरूमा ठूलो कौतुहलता जगाएको छ । मेड इन नेपाल प्याभिलियनमा राखिएको यो मोडलले स्वदेशी प्रविधिप्रतिको गर्व र चासो बढाएको छ ।
बढ्दो इन्धन मूल्यका कारण सर्वसाधारणको झुकाव बढी विद्युतीय स्कुटर तथा बाइकहरूतर्फ देखिएको छ । यस वर्षको नाडा अटो शोमा विभिन्न ब्रान्डहरूले ग्राहकहरूका लागि थुप्रै छुट, क्यास ब्याक अफर ल्याएका छन् ।
भेस्पा र अप्रिलिया स्टाइलिस इटालियन स्कुटरहरूमा ब्रान्डले विशेष चाडपर्व लक्षित छुट, नगद छुट र आकर्षक एक्सचेन्ज अफर प्रदान गरिरहेको छ, जसले फेशन र पर्फर्मेन्स प्रेमीहरूलाई आकर्षित गरेको छ ।
विद्युतीय ब्रान्ड एम्पियरले नाडा अवलोकनकर्ताहरूका लागि विशेष छुट योजना दिएको छ । यसअन्तर्गत ग्राहकले सिधै एक हजार रुपैयाँसम्मको नगद छुट पाउनुका साथै आकर्षक लक्की ड्र मार्फत थप उपहार जित्ने मौका प्राप्त गर्न सक्छन् ।
यसपटकको नाडामा मेड इन नेपाल अन्तर्गत पर्ने टु ह्वीलर र पार्टपुर्जाहरूमा विशेष सहुलियत, सहज फाइनान्स सुविधा र विनाझन्झट एक्सचेन्जको सुविधा दिइएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।