काठमाण्डौ । बाढीका कारण यात्रा प्रभावित भएका यात्रुलाई लक्षित गर्दै टर्किस एयरलाइन्सले काठमाण्डौ उडानका टिकटमा विशेष सुविधा उपलब्ध गराउने भएको छ। एयरलाइन्सले अगस्ट २६ देखि सेप्टेम्बर १, २०२६ सम्म काठमाडौंका लागि उडान टिकट लिएका यात्रुलाई टिकट परिवर्तन, रिफन्ड तथा म्याद थपमा सहजीकरण गर्ने जनाएको हो।
एयरलाइन्सका अनुसार अगस्ट २६, २०२६ वा सोभन्दा अघि टिकट जारी भएका यात्रुले सेप्टेम्बर १०, २०२६ सम्म सम्बन्धित प्रक्रिया पूरा गरेमा उक्त सुविधा लिन सक्नेछन्।
सुविधाअन्तर्गत एउटै क्याबिनभित्र नयाँ बुकिङ गर्दा बुकिङ क्लास फरक परे पनि कुनै अतिरिक्त शुल्क नलिई रिजर्भेसन परिवर्तन गर्न सकिनेछ। यसैगरी, टिकट रिफन्ड गर्नुपर्ने अवस्थामा भने मूल टिकटमा लागू हुने भाडा नियमअनुसार प्रक्रिया अघि बढाइने एयरलाइन्सले जनाएको छ।
यात्रुले टिकटको म्यादसमेत कुनै अतिरिक्त शुल्क वा जरिवाना नतिरी सेप्टेम्बर १५, २०२६ सम्म विस्तार गर्न सक्नेछन्। एयरलाइन्सका अनुसार यो सुविधा टिकटसँग सम्बन्धित अतिरिक्त सेवामा समेत लागू हुनेछ।
तर, घोषित विशेष सुविधा टर्किस एयरलाइन्स आफैंले सञ्चालन गर्ने उडानमा मात्र लागू हुने जनाइएको छ। अन्य एयरलाइन्सबाट सञ्चालित उडानमा यो व्यवस्था लागू नहुने स्पष्ट पारिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।