काठमाण्डौ । तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीले ठूलो क्षति पुर्याएको नुवाकोटको ढुंगे बजारमा फेरि बाढी आउन सक्ने सूचना आएपछि प्रहरीले बस्ती खाली गराउन थालेको छ।
पहिलो बाढीले ढुंगे बजारका विभिन्न क्षेत्र माटो, ढुंगा, बालुवा तथा बाढीले बगाएर ल्याएका अन्य सामग्रीले पुरेको छ। बजार क्षेत्रको भौतिक संरचना, सडक तथा आवतजावतमा समेत ठूलो असर परेको छ।
यहीबीच पुनः बाढी आउन सक्ने जोखिमको सूचना आएपछि स्थानीय प्रशासन र सुरक्षाकर्मीले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्ने काम सुरु गरेका हुन्।
प्रहरीले नदी तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई घर नजिक नबस्न, सुरक्षित उचाइ भएका स्थानतर्फ जान र अनावश्यक रूपमा बजार क्षेत्रमा आवतजावत नगर्न आग्रह गरेको छ।
भोटेकोशी हुँदै आएको बाढीले नुवाकोटका ढुंगे, बेत्रावती, त्रिशूली तथा देवीघाट आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। सडक, पुल र अन्य पूर्वाधारमा क्षति पुगेपछि कतिपय स्थानमा यातायातसमेत अवरुद्ध छ।
अहिले उद्धार, राहत तथा क्षतिको विवरण संकलनको काम चलिरहेका बेला अर्को बाढीको सम्भावना देखिएपछि स्थानीयवासीमा थप त्रास बढेको छ।
सुरक्षा निकायले जोखिमयुक्त क्षेत्र खाली गराउँदै मानिसलाई सुरक्षित स्थानमा पुर्याउने काम जारी राखेको जनाएको छ। सम्बन्धित निकायले अर्को सूचना नआएसम्म नदी किनार र बाढी प्रभावित क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।