काठमाण्डौ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काठमाडौं उपत्यकासहित कोशी, बागमती र कर्णाली प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ।
काठमाण्डौमा नागढुंगा–मुग्लिन सडकखण्ड बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै पूर्णरूपमा बन्द गरिएको प्रहरीले जनाएको छ।
कोशी प्रदेशको इलाममा पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलाम–झापा जोड्ने सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
बागमती प्रदेशका विभिन्न जिल्लामा पनि बाढी तथा पहिरोका कारण सडक यातायात प्रभावित भएको छ। काभ्रेमा बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्ड बाढीको जोखिमका कारण निश्चित समयका लागि सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मकवानपुरमा हेटौंडा–भीमफेदी–बागमती–ललितपुर सडक तथा कान्तिलोकपथ क्षेत्रमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
यसैगरी, रसुवाको उत्तरगया गाउँपालिका–५, खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण लामो समयदेखि पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। रसुवाकै मुख्य राजमार्गसमेत अर्को सूचना जारी नभएसम्मका लागि पूर्णरूपमा बन्द गरिएको छ।
नुवाकोटमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै शिवपुरी गाउँपालिका–८, घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१०, ज्वाङखोला लगायतका क्षेत्रमा पनि पहिरो तथा बाढीका कारण पृथ्वी राजमार्ग प्रभावित भएको प्रहरीले जनाएको छ।
चितवनमा मुग्लिन–नारायणगढ सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको छ।
त्यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा आठबिसकोट नगरपालिका–६ स्थित जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले लगातारको वर्षाका कारण सडकमा जुनसुकै बेला बाढी तथा पहिरो आउन सक्ने भएकाले अत्यावश्यकबाहेकको यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भए सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। जोखिमयुक्त सडकखण्डमा विशेष सावधानी अपनाउनसमेत प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।