काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले सूचना जारी गर्दै भोटेकोशी र त्रिशूली नदी किनारमा उद्धार, राहत तथा अन्य काममा खटिएका सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेकी हुन्।
प्राधिकरणका अनुसार थप बाढी आउन सक्ने जोखिम कायमै रहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका व्यक्तिले अवस्था असुरक्षित देखिए तत्काल सुरक्षित स्थानमा जानुपर्नेछ।
सूचनामा भोटेकोशी तथा त्रिशूली नदी आसपास उद्धार र राहतमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य व्यक्तिलाई समेत जोखिम क्षेत्रमा अनावश्यक रूपमा नबस्न भनिएको छ।
यसैबीच, चीनतर्फ थुनिएर बनेको ताल वा ड्याम पुनः फुटेको सूचना प्राप्त भएको भन्दै प्रहरीले पनि नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।
माथिल्लो क्षेत्रबाट थप पानी र लेदो आउन सक्ने सम्भावनाका कारण भोटेकोशी तथा त्रिशूली नदी प्रणालीको तल्लो तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै सम्बन्धित निकायहरूले निरन्तर निगरानी गरिरहेका छन्।
प्राधिकरणले अर्को सूचना नआएसम्म नदी किनार, बगर तथा कमजोर भूभागमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।