काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडकखण्डमा सडक मर्मतका लागि आज पनि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण परेवाभिर क्षेत्रमा सडक क्षतिग्रस्त भएपछि राजमार्गमा एकतर्फी रूपमा सवारी सञ्चालन हुँदै आएको थियो। क्षतिग्रस्त सडकको मर्मतलाई तीव्रता दिन जिल्ला प्रशासन कार्यालय धादिङले शनिबारपछि आइतबार पनि सडक पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।
प्रशासनका अनुसार आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी आवागमन रोकिनेछ। मर्मत अवधिमा एम्बुलेन्स र शववाहनबाहेक अन्य कुनै पनि सवारीसाधनलाई सञ्चालनको अनुमति दिइएको छैन।
यसअघि शनिबार पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडक बन्द गरी मर्मतको काम गरिएको थियो। निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि आज पनि आवागमन रोक्दै सडक मर्मतलाई निरन्तरता दिइएको प्रशासनले जनाएको छ।
पृथ्वी राजमार्ग काठमाण्डैलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक नाकासँग जोड्ने महत्वपूर्ण सडक भएकाले परेवाभिरमा हुने पूर्ण अवरोधले यात्रुवाहक तथा मालवाहक सवारीको आवागमन प्रभावित हुने देखिएको छ। विशेषगरी काठमाण्डौ–चितवन, हेटौँडा तथा पूर्व–पश्चिमतर्फ जाने सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सडक बन्द रहने अवधिमा यात्रु तथा सवारीचालकलाई सम्भावित असुविधाबाट बच्न वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। साथै, सडक मर्मतको काम सम्पन्न भएपछि मात्रै नियमित रूपमा यातायात सञ्चालनमा ल्याइने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।