काठमाण्डौ । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा बाजुराको जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।
गएराति लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ अन्तर्गत कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँध लगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
त्यस्तै, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं. ६ को जडाङ्गा लगायतका स्थानमा समेत पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।
प्रहरी टोलीले बडीमालिका नगरपालिका तथा सडक विभागको जेसीबी प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।
लगातार वर्षा भइरहेकाले सडकखण्डका अन्य स्थानमा समेत पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ। पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ भने गन्तव्यतर्फ जाँदै गरेका सवारीसाधन बाटोमै रोकिएका छन्।
प्रहरीका अनुसार वर्षा नरोकिएसम्म सडकखण्डमा थप पहिरो खस्ने सम्भावना रहेकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।