काठमाण्डौ । पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक आपूर्ति व्यवस्था तीव्र पारिएको छ।
नेपाल आयल निगमका अनुसार काठमाडौंमा बिक्री हुने ग्यासका खाली सिलिन्डर तराईका विभिन्न जिल्लामा रहेका उद्योगमा पुर्याएर रिफिल गरी पुनः काठमाडौं ल्याउने व्यवस्था मिलाइएको हो।
यसरी पछिल्ला तीन दिनमा मात्रै कुल ८७ हजार ८७७ वटा ग्यास सिलिन्डर काठमाडौं भित्र्याइएको निगमले जनाएको छ।
निगमका अनुसार भदौ १८ गते २४ हजार ४९४ सिलिन्डर, भदौ १९ गते ३४ हजार १३४ सिलिन्डर र भदौ २० गते २९ हजार २४९ सिलिन्डर रिफिल गरी काठमाडौं ल्याइएको हो।
१६ उद्योगबाट रिफिल
काठमाडौंका लागि आवश्यक ग्यास सिलिन्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका १६ वटा विभिन्न ग्यास उद्योगबाट रिफिल गरिएको निगमले जनाएको छ।
श्री ग्यास, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्तेलगायत ब्रान्डका सिलिन्डर यसरी आपूर्ति गरिएको छ।
कृष्णभिर नखुलेसम्म वैकल्पिक आपूर्ति
पृथ्वीराजमार्गको कृष्णभिर खण्ड पूर्ण रूपमा मर्मत भई नियमित सञ्चालनमा नआएसम्म काठमाडौं उपत्यकामा ग्यास आपूर्ति प्रभावित हुन नदिन यही वैकल्पिक प्रक्रियालाई निरन्तरता दिइने निगमले जनाएको छ।
मुख्य सडक अवरुद्ध हुँदा सामान्य ढुवानी चक्र प्रभावित भए पनि बजारमा ग्यासको अभाव सिर्जना हुन नदिन वैकल्पिक जिल्लाका उद्योग प्रयोग गरेर आपूर्ति सन्तुलन कायम राख्ने प्रयास भइरहेको निगमको भनाइ छ।
पछिल्ला तीन दिनमै झन्डै ८८ हजार सिलिन्डर काठमाडौं भित्रिनुलाई उपत्यकाको तत्कालीन माग व्यवस्थापनका लागि महत्वपूर्ण राहतका रूपमा हेरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।