काठमाण्डौ । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार बिहानदेखि आंशिक रूपमा बन्द गर्ने भएको छ। तुइन खोलामा पहिरो रोकथाम तथा सम्भावित जोखिम न्यूनीकरणका लागि माटो कटान र व्यवस्थापनको काम गर्न सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा आइतबार जारी सूचनाअनुसार कृष्णभीरमा सडक मर्मतको काम भइरहेको समयको सदुपयोग गर्दै नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला परियोजनाको माटो कटान कार्य गरिनेछ।
कृष्णभीरको सडक मर्मत सम्पन्न भई सवारी आवागमन नियमित रूपमा सञ्चालनमा नआएसम्म तुइन खोलामा उक्त काम जारी रहने प्रशासनले जनाएको छ।
तुइन खोलामा पटक–पटक पहिरो जाने भएकाले सडक सुरक्षालाई ध्यानमा राख्दै पहिरो खस्न सक्ने माथिल्लो भागको माटो तथा ढुंगा पन्छाउने र जोखिमयुक्त भाग व्यवस्थापन गर्ने काम गर्न लागिएको हो।
प्रशासनका अनुसार काम भइरहेका बेला सडकमा सवारी आवागमन रोकिने भए पनि निश्चित समयमा सडक खुला गरिनेछ।
कुन समयमा सडक खुला हुनेछ ?
प्रशासनले जारी गरेको सूचनाअनुसार नारायणगढ–मुग्लिन सडकखण्ड निम्न समयमा सवारी आवागमनका लागि खुला गरिनेछस्
बिहान ८ देखि ८ः३० बजेसम्म
बिहान १०ः३० देखि ११ बजेसम्म
दिउँसो १ देखि १ः३० बजेसम्म
दिउँसो ३ः५० देखि ४ बजेसम्म
साँझ ६ बजेपछि


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।