काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच टेलिफोन वार्ता भएको छ। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट उत्पन्न मानवीय संकट, जारी उद्धार तथा राहत अभियान र नेपाललाई आवश्यक पर्न सक्ने थप अन्तर्राष्ट्रिय सहयोगका विषयमा दुई पक्षबीच छलफल भएको हो।
टेलिफोन संवादका क्रममा अमेरिकी विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीबाट भएको ठूलो मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरेका छन्।
उनले विपद्को कठिन घडीमा अमेरिका नेपाली जनता र नेपाल सरकारसँग ऐक्यबद्ध रहेको सन्देशसमेत दिएका छन्।
वार्तामा सभापति लामिछानेले बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार र राहत कार्यबारे रुबियोलाई जानकारी गराएका थिए। नेपाल सरकारले उपलब्ध स्रोतसाधन परिचालन गरी प्रभावित नागरिकको उद्धार, राहत तथा सुरक्षामा काम गरिरहेको उनले बताएका छन्।
लामिछानेले विपद्का कारण जोखिममा परेका नेपाली नागरिकसँगै नेपालमा रहेका विदेशी नागरिकको सुरक्षालाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी गराएका थिए।
भोटेकोशी बाढीपछि विभिन्न मुलुकले नेपालप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा उद्धार सहयोग उपलब्ध गराइरहेका बेला अमेरिकी विदेशमन्त्री र रास्वपा सभापतिबीच भएको यो संवादलाई कूटनीतिक दृष्टिले समेत अर्थपूर्ण मानिएको छ।
लामिछानेले संकटको समयमा अमेरिकी सरकारले नेपालप्रति देखाएको सद्भाव, सहानुभूति र सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्।
जवाफमा विदेशमन्त्री रुबियोले विपद्पछिको उद्धार, राहत तथा अन्य आवश्यकताका क्षेत्रमा नेपाललाई थप सहयोग आवश्यक परे अमेरिका सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकाले यसअघि पनि विपद्पछि नेपालप्रति ऐक्यबद्धता जनाउँदै सहयोगको हात बढाउँदै आएको छ। पछिल्लो टेलिफोन संवादमा समेत अमेरिकी पक्षले नेपालको आवश्यकता र परिस्थितिअनुसार थप सहायता उपलब्ध गराउन तयार रहेको सन्देश दिएको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।