काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव थप चुलिएको छ। ग्यास पाउन राजधानीका विभिन्न बिक्री केन्द्रमा उपभोक्ताको भीड र लामो लाइन देखिन थालेको छ।
भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले सडक संरचनामा क्षति पुर्याएपछि कृष्णभीर क्षेत्रको आवागमन प्रभावित भएको हो। काठमाडौंतर्फ अत्यावश्यक वस्तु ल्याउने प्रमुख स्थलमार्ग नै अवरुद्ध हुँदा ग्यास, पेट्रोलियम पदार्थ र अन्य उपभोग्य वस्तुको नियमित आपूर्ति प्रभावित भएको छ।
सडक अवरुद्ध भएको ८ दिन पुग्दा काठमाडौं र आसपासका उद्योगमा रिफिलका लागि आउने एलपी ग्यासका बुलेट सहज रूपमा भित्रिन सकेका छैनन्। यसले पहिलेदेखि नै दबाबमा रहेको ग्यास आपूर्तिलाई थप जटिल बनाएको छ।
काठमाडौंका विभिन्न ग्यास डिलर तथा बिक्री केन्द्रमा सिलिन्डर खोज्ने उपभोक्ताको चाप बढेको छ। नयाँ सडकको धर्मपथ क्षेत्रमा समेत ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ।
कतिपय उपभोक्ता ग्यास पाइने आशामा रातिदेखि नै बिक्री केन्द्र पुग्ने गरेका छन्। बढी मूल्य तिर्न तयार हुँदा पनि सहज रूपमा सिलिन्डर नपाएको उपभोक्ताको गुनासो छ।
सडक अवरोधको असर ग्यासमा मात्रै सीमित छैन। पेट्रोलियम पदार्थ, खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री बोकेका केही सवारीसाधनसमेत वैकल्पिक मार्ग वा सडक खुल्ने प्रतीक्षामा रोकिएका छन्।
खाद्यान्नतर्फ तत्काल ठूलो अभाव नदेखिए पनि आपूर्ति लामो समय प्रभावित भए मूल्य र उपलब्धता दुवैमा दबाब पर्न सक्ने जोखिम बढेको छ।
ग्यास व्यवसायीहरूका अनुसार काठमाडौं उपत्यकाको नियमित माग धान्न निरन्तर बुलेट भित्रिनुपर्ने हुन्छ। तर प्रमुख राजमार्ग अवरुद्ध भएपछि आयातित ग्यास समयमै उद्योगसम्म पुग्न नसक्दा बजारमा सिलिन्डरको अभाव तीव्र बनेको हो।
सम्बन्धित निकायले कृष्णभीर क्षेत्रमा पहिरो पन्छाउने र सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्। तर सडक पूर्ण रूपमा सहज नहुँदासम्म राजधानीको आपूर्ति प्रणाली सामान्य अवस्थामा फर्किन कठिन देखिएको छ।
अवरोध लम्बिए काठमाडौं उपत्यकामा ग्याससहित दैनिक उपभोग्य अत्यावश्यक वस्तुको अभाव थप गहिरिन सक्ने जोखिम छ।
विपद्का कारण आपूर्ति शृङ्खला प्रभावित भइरहेका बेला बजारमा कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी हुन नदिन सरकारले अनुगमन बढाउनुपर्ने मागसमेत उपभोक्ताबाट उठ्न थालेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।