काठमाण्डौ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य सडक तथा राजमार्ग प्रभावित भएका छन्। कतिपय सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
काठमाण्डौ उपत्यका जोड्ने काठमाण्डौ–धादिङ सडकखण्डअन्तर्गत चन्द्रागिरी नगरपालिका–२ चिसापानीमा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। यस्तै, मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलामा सडक मर्मतको काम भइरहेकाले सवारी चाप हेरेर एकतर्फी आलोपालो यातायात सञ्चालन गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सोही राजमार्गको ज्वाङखोला तथा गजुरी गाउँपालिका–२ चालिसेमा भने एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।
रसुवाको उत्तरगया क्षेत्रमा मुख्य राजमार्गका विभिन्न स्थानमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
कर्णाली प्रदेशका विभिन्न मुख्य राजमार्गमा पहिरोका कारण यातायात प्रभावित भएको छ। मुगुको मुगु–गमगढी सडकखण्ड, कालिकोटको कर्णाली राजमार्गअन्तर्गत गग्ने खोला, सल्यानको राप्ती राजमार्गअन्तर्गत चोरखोला तथा सुर्खेतको बराहताल क्षेत्रमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेशको रोल्पास्थित सहिद राजमार्गको भालखोरमा समेत पहिरोका कारण यातायात पूर्ण रूपमा बन्द भएको छ।
यसैबीच, काभ्रेको खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै १० टनभन्दा बढी क्षमताका मालवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ।
अन्य सवारी साधनलाई भने सडकको अवस्था हेरेर बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।
प्रहरीले वर्षा, बाढी र पहिरोका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रा गर्नुअघि सम्बन्धित सडकखण्डको अवस्था बुझ्न आग्रह गरेको छ।
प्रहरीले यात्राका क्रममा उच्च सतर्कता अपनाउन तथा जोखिमयुक्त सडकखण्डमा अनावश्यक यात्रा नगर्नसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।