काठमाण्डौ । नेपाल अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुँदै गर्दा नेपाली उद्योग तथा व्यवसायमा पर्न सक्ने प्रभाव, अवसर र चुनौतीबारे उद्यमी तथा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले कोशी प्रदेशमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघको ‘नेपालको समावेशी व्यावसायिक वातावरण तथा साना एवं मझौला उद्यम सुदृढीकरण’ परियोजनाअन्तर्गत आयोजित कार्यशाला नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेशका विभिन्न उद्योग वाणिज्य संघ तथा व्यावसायिक संस्थासँग आबद्ध करिब १५० उद्यमी तथा व्यवसायीको सहभागिता रहेको थियो।
कार्यक्रममा अध्यक्ष राउतले विकासशील मुलुकमा स्तरोन्नति हुनु अन्तर्राष्ट्रिय समुदायमा नेपालको आर्थिक तथा सामाजिक प्रगतिलाई प्रतिबिम्बित गर्ने महत्वपूर्ण उपलब्धि भए पनि यससँगै निजी क्षेत्रले सामना गर्नुपर्ने नयाँ चुनौतीका लागि समयमै तयारी गर्नुपर्ने बताए ।
‘स्तरोन्नतिसँगै अवसर आउँछन्, तर त्यससँगै चुनौती पनि थपिन्छन्। त्यसैले नेपाली उद्यमी तथा व्यवसायीले सम्भावित प्रभावको अध्ययन गरी प्रतिस्पर्धात्मक क्षमता बढाउन अहिलेबाटै तयारी गर्न आवश्यक छ,’ उनले भने।
उनले विशेषगरी महिला उद्यमीले सञ्चालन गरेका साना तथा मझौला उद्यममा स्तरोन्नतिपछि पर्न सक्ने प्रभावबारे सचेत गराउनु कार्यशालाको प्रमुख उद्देश्य रहेको बताए। बजार, लगानी, उत्पादन तथा प्रतिस्पर्धाका क्षेत्रमा आउन सक्ने परिवर्तनबारे उद्यमीलाई समयमै जानकारी गराउन आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रमको उद्देश्यबारे नेपाल उद्योग वाणिज्य महासंघ तथा परियोजनाका टिम लिडर रोशन नेपालले जानकारी गराए। कार्यशालामा एलडीसीबाट स्तरोन्नतिपछि नेपालको उद्योग तथा व्यवसायमा पर्न सक्ने प्रभावसम्बन्धी अध्ययन प्रस्तुत गर्दै परामर्शदाता भोजराज पौडेलले नेपालको स्तरोन्नतिको प्रक्रिया, संयुक्त राष्ट्रसंघमा अघि बढाइएको एजेन्डा, सम्भावित प्रभाव तथा निजी क्षेत्रको भूमिकाबारे प्रस्तुति दिए ।
प्रस्तुतिपछि सहभागी महिला उद्यमी तथा व्यवसायीहरूले स्तरोन्नतिसँग सम्बन्धित व्यावहारिक समस्या र जिज्ञासा राखेका थिए। लेटाङ उद्योग वाणिज्य संघकी कुमारी थापा गुरुङले आफूले सञ्चालन गरिरहेको ब्याग उद्योगमा लगानी तथा बजारीकरणको समस्या रहेको उल्लेख गर्दै स्तरोन्नतिले आफ्नो व्यवसायमा पार्न सक्ने प्रभावबारे जिज्ञासा राखे ।
मोरङ उद्योग व्यापार संघकी श्रुति शर्माले महिला उद्यमीले सञ्चालन गरेका उद्यमका लागि वित्तीय पहुँच सहज बनाउनुपर्नेमा जोड दिए। विराट बायोटेकका सञ्चालक ढुण्डी ढकालले स्तरोन्नतिले निर्यात क्षेत्रमा पार्न सक्ने प्रभावबारे प्रश्न गर्दै राज्यको लगानी आयात प्रतिस्थापन तथा स्वदेशी उत्पादन प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने बताए ।
त्यस्तै, हस्तकला व्यवसायमा संलग्न उद्यमी यात्री चापागाईंले चीनबाट कच्चा पदार्थ आयात गर्दा विभिन्न समस्या भोग्नुपरेको उल्लेख गर्दै उद्यमशीलता प्रवद्र्धन हुने गरी नीति निर्माण तथा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले नेपाली उद्यमीले स्वदेशी उत्पादनको प्रवद्र्धन गरिरहेका भए पनि भारतसँगको खुला सीमाका कारण प्रतिस्पर्धामा समस्या भइरहेको बताए। तेस्रो मुलुकमा नेपाली उत्पादनको निर्यात बढाउन निजी क्षेत्रले उत्पादनको गुणस्तर र प्रतिस्पर्धात्मक क्षमता थप सुधार गर्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि शिवसताक्षी उद्योग वाणिज्य संघकी प्रतिनिधि मेरीना कार्की, उद्यमी मनिषा दर्नाल तथा इटहरी खुसी मिटकी सञ्चालक मीनुकुमारी राईले टिप्पणी तथा सुझाव राखेकी थिइन्। सहभागीहरूले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ परामर्शदाता भोजराज पौडेलले दिएका थिए।
कार्यक्रमको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघकी महिला उद्यमी सभापति कृति श्रेष्ठ उपाध्यायले विकासशील मुलुकमा स्तरोन्नतिको प्रक्रियालाई अवसरका रूपमा उपयोग गर्न महिला उद्यमीले उत्पादन, बजार, प्रविधि तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने बताइन् ।
सहभागीहरूले कार्यशालाले एलडीसीबाट विकासशील मुलुकमा स्तरोन्नतिपछि नेपाली निजी क्षेत्र, विशेषगरी महिला उद्यमीले सामना गर्न सक्ने चुनौती तथा त्यसका लागि आवश्यक तयारीबारे जानकारी आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको बताएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।