काठमाण्डौ । मोरङ जिल्ला कारागारको ‘बी’ ब्लकमा प्रहरीले छापा मार्दा १० लाख ३ हजार १५५ रुपैयाँ नगद र आठवटा फलामे रड बरामद गरेको छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार कारागारमा खानतलासी गर्दा उक्त रकम र रड फेला पारेको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार नगद रकम कसरी कारागारभित्र पुग्यो, कसको हो र के प्रयोजनका लागि राखिएको थियो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको छ।
‘बरामद सामानको स्रोत, प्रयोजन र यसको पछाडिको सम्भावित योजनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ,’ उनले बताए।
यसअघि भारतीय नागरिक चन्चल बर्मा र मनिष विक नेतृत्वको समूहले कारागारको ‘बी’ ब्लकमा प्रभाव जमाउँदै आएको बताइएको थियो। उक्त समूहको दबाबका कारण सुरक्षाकर्मीलाई समेत सहज रूपमा ब्लकभित्र प्रवेश गरेर खानतलासी गर्न कठिन हुने गरेको थियो।
कारागार प्रशासनले पछिल्लो समय दुई चरणमा गरी ३७ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरेको थियो। मुख्य नाइकेहरूलाई समेत अन्य कारागार पठाइएपछि सुरक्षा अवस्था सामान्य बनेको मौका पारेर संयुक्त सुरक्षा टोलीले छापा मारेको हो।
प्रहरीले कारागारको आन्तरिक सुरक्षा व्यवस्था थप कडा बनाउँदै निगरानी बढाइएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।