काठमाडौं। गरिमा विकास बैंक र बैंकमा कार्यरत कर्मचारीहरूले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुल १ करोड १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
बैंकका अनुसार कर्मचारीहरूले एक दिनको तलब तथा भत्ताबापत १६ लाख २० हजार ५५० रुपैयाँ सहयोग गरेका छन्। त्यसमा बैंकले ३४ लाख ९० हजार ५६१ रुपैयाँ थप गरी कुल ५१ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरेको छ।
यससँगै बैंकले बाढी प्रभावित क्षेत्रका नागरिकको शिक्षा, स्वास्थ्य तथा पुनःस्थापनासम्बन्धी कार्यक्रममा थप ५० लाख रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जनाएको छ। उक्त रकम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट स्थानीय तहसँगको समन्वयमा प्रत्यक्ष सहयोगका रूपमा उपलब्ध गराइने बैंकले जनाएको छ।
प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको रकम र प्रभावित क्षेत्रमा गरिने प्रत्यक्ष सहयोगसमेत जोड्दा बैंक तथा कर्मचारीबाट उपलब्ध हुने कुल सहायता १ करोड १ लाख ११ हजार १११ रुपैयाँ पुगेको हो।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीपछि प्रभावित परिवारको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि सरकारी निकायसँगै निजी क्षेत्रबाट पनि सहयोग जुटिरहेको छ।
गरिमा विकास बैंकले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। बैंकले घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित नागरिकको सुरक्षित पुनःस्थापनाको कामना गर्दै राहत र पुनर्निर्माणमा सबै सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।