काठमाण्डौ । काठमाण्डौ त्रिपुरेश्वरमा रिद्धीसिद्धी यातायातको बसमा आगलागी हुनुअघि चालक र ड्युटीमा खटिएका ट्राफिक प्रहरीबीच जरिबानाको विषयलाई लिएर विवाद भएको खुलेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बस चालकले आफूले गल्ती नगरेको दाबी गर्दै जरिबाना नतिर्ने अडान लिएको सुनिन्छ। सोही विवादपछि बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।
आगलागीमा काभ्रे घर भएका २५ वर्षीय चालक दावा लामा गम्भीर घाइते भएका छन्। उनलाई प्रहरीले उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि पठाएको थियो। उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक छ।
सार्वजनिक भिडियो हेर्दा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको भन्दै चालकलाई जरिबानाको चिट काट्न खोजेको देखिन्छ। तर चालक लामाले आफूले कुनै गल्ती नगरेको भन्दै जरिबाना नतिर्ने अडान लिएका छन्।
उनले भिडियोमा आफूलाई ‘विनाकसुर फाइन हान्न खोजिएको’ गुनासो गरेका छन्।
ड्राइभिङ सिटमा रहेका चालक र सडकमा रहेका ट्राफिक प्रहरीबीच विवाद भइरहेका बेला त्यहाँ सशस्त्र प्रहरीको पोशाकमा रहेका तथा सादा पोशाकका केही व्यक्ति पनि देखिन्छन्।
उनीहरूले बस सडकको बीच भागमा रोकिँदा यातायात आवागमन प्रभावित भएको भन्दै साइड लगाउन आग्रह गरिरहेको पनि भिडियोमा सुनिन्छ।
विवादकै क्रममा चालकले आफूले ट्राफिक प्रहरीलाई सम्मान गरेको र माफीसमेत मागेको तर त्यसपछि पनि जरिबाना तिराउन खोजिएको गुनासो गरेका छन्।
ट्राफिक प्रहरीले जरिबाना तिर्नुपर्ने अडान लिएपछि चालक थप आक्रोशित भएको भिडियोमा देखिन्छ।
त्यसपछि चालकले आफू ‘काम गर्ने मान्छे’ भएको भन्दै ‘म मर्न तयार छु’ भन्ने अभिव्यक्ति दिएका छन्।
उनले आफूले गल्ती नगरेको तर माफी मागिसकेको दोहोर्याउँदै ट्राफिक प्रहरीले आफूलाई अन्याय गरेको गुनासो गरेका छन्।
विवाद चर्किएको केही समयपछि बसको पछिल्लो भागबाट आगो दन्किएको भिडियोमा देखिन्छ।
घटनाको विस्तृत कारण र आगलागी कसरी सुरु भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।