काठमाण्डौ । मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडामाथि आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले सोमबार भक्तपुरस्थित निवासबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सांसद खतिवडाविरुद्ध प्रसाईंले दिएको अभिव्यक्तिलाई लिएर साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसपछि जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको हो ।
साइबर ब्यूरोका प्रवक्ता एसपी दिलीपकुमार गिरीले प्रसाईंलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको बताएका छन् ।
प्रसाईंले सांसद खतिवडालाई उनका छोरा रसिक खतिवडाको मृत्युसँग जोडेर विवादास्पद टिप्पणी गरेका थिए । उक्त अभिव्यक्तिप्रति खतिवडाले संसद् बैठकमै आपत्ति जनाएकी थिइन् । त्यसपछि उनको परिवारका तर्फबाट प्रसाईंविरुद्ध उजुरी परेको बताइएको छ ।
प्रसाईंका छोरा निराजन प्रसाईंले पनि प्रहरीले पक्राउ पुर्जीसहित आफ्ना बुबालाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।
प्रहरीले प्रसाईंलाई विद्युतीय अपराधसम्बन्धी विषयमा थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
प्रसाईं यसअघि पनि विभिन्न प्रकरणमा पटक–पटक पक्राउ पर्दै आएका छन् । पछिल्लोपटक गत साउनमा पनि उनलाई भक्तपुरस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।