काठमाण्डौ । आईसीएफसी फाइनान्स लिमिटेडको २३औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजीको १०.५२६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
फाइनान्सको वार्षिक साधारणसभा मंगलबार बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाण्डौमा सम्पन्न भएको हो। सभाले नगद लाभांशमा लाग्ने करसमेत समावेश गरी प्रस्तावित लाभांश सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षकमा एस.ए.आर. एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्तावसमेत पारित गरेको छ।
कम्पनीका अनुसार साधारणसभा अपराह्न १२:३० बजे सम्पन्न भएको थियो। सभाबाट पारित भएको नगद लाभांश आजै सम्बन्धित सेयरधनीको खातामा जम्मा गरिने फाइनान्सले जानकारी दिएको छ।
आईसीएफसी फाइनान्सको चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको छ। कम्पनीले हाल २१ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
फाइनान्सले चालु आर्थिक वर्षको भदौ मसान्तसम्म २२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १९ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।