काठमाडौं। चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुईवटा बेली पुल निर्माणका आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
नेपालको महावाणिज्य दूतावासको अनुरोधअनुसार चीनले पहिलो चरणमा १००–१०० मिटर लम्बाइका दुई बेली पुल निर्माणका लागि सामग्री उपलब्ध गराएको हो। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमा आयोजित कार्यक्रममा महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौला र सिजाङ विदेश मामिला कार्यालयका उपमहानिर्देशक ओउयाङ झिबिङले हस्तान्तरण पत्र आदानप्रदान गरेका थिए।
पुलका सामग्री माथिल्लो मुस्ताङको कोरोला (लिजी) सीमा बिन्दुमा आइपुगेका छन्। नेपाली पक्षले सामग्री बुझेर बाढी प्रभावित क्षेत्रमा पुल जडान प्रक्रिया अघि बढाउनेछ।
चिनियाँ पक्षले पुल जडानमा सहयोग गर्न आवश्यक प्राविधिक जनशक्ति पनि उपलब्ध गराएको छ। सामग्रीमा बेली प्यानल, डेकिङ प्यानल, स्टिल प्लेट, बीम, ब्रेस, बोल्ट, पिनलगायतका सामग्री रहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।