काठमाण्डौ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ज्येष्ठ नागरिकसँग जीवनभर सञ्चित ज्ञान, सीप र अनुभवलाई संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाएको छ ।
३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मन्त्रालयले ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षण आवश्यक पर्ने समूहका रूपमा मात्र नभई समाज र राष्ट्रका ज्ञान, सीप तथा अनुभवका महत्वपूर्ण स्रोतका रूपमा स्थापित गर्ने अवधारणा अघि सारेको हो ।
मन्त्री सिता बादीले ज्येष्ठ नागरिकसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइ राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पत्ति भएको बताउनुभएको छ।
‘ज्येष्ठ नागरिकहरूसँग सञ्चित ज्ञान, सीप, अनुभव र जीवनका सिकाइहरू राष्ट्रका अमूल्य बौद्धिक तथा सामाजिक सम्पदा हुन् । ती अनुभवहरूको संरक्षण, अभिलेखीकरण र पुस्तान्तरणलाई संस्थागत रूप दिन डिजिटल प्रविधिको उपयोगसहित ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ निर्माण तथा विकासको प्रक्रिया अघि बढाइएको छ,’ उनले भने ।
मन्त्रालयका अनुसार अनुभव बैंकमार्फत ज्येष्ठ नागरिकले जीवनभर आर्जन गरेको ज्ञान र अनुभवलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी नयाँ पुस्तासम्म पु¥याउने आधार तयार हुनेछ । कृषि, उद्यम, शिक्षा, प्रशासन, कला–संस्कृति, परम्परागत ज्ञान, पेशा तथा सामाजिक जीवनलगायत क्षेत्रमा हासिल गरेका अनुभवलाई डिजिटल माध्यमबाट सुरक्षित गर्ने अवधारणा रहेको छ ।
अन्तरपुस्ता ज्ञान हस्तान्तरणमा जोड
अनुभव बैंकको मुख्य उद्देश्य एक पुस्ताले लामो समय लगाएर आर्जन गरेको ज्ञान र सीप अर्को पुस्ताका लागि मार्गदर्शनका रूपमा उपलब्ध गराउनु हो ।
मन्त्रालयले विद्यार्थी, युवा तथा नयाँ पुस्तालाई ज्येष्ठ नागरिकका अनुभव र जीवनका सिकाइसँग जोड्ने तथा भविष्यमा उनीहरूले निःशुल्क रूपमा त्यस्ता ज्ञानबाट सिक्न र मार्गदर्शन लिन सक्ने माध्यमका रूपमा अनुभव बैंकलाई विकास गर्ने लक्ष्य राखेको जनाएको छ ।
यसबाट समाजमा रहेको व्यावहारिक तथा परम्परागत ज्ञान पुस्तान्तरण हुनुका साथै ज्येष्ठ नागरिकका महत्वपूर्ण अनुभव उनीहरूसँगै हराएर जानबाट जोगाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
ज्येष्ठ नागरिक लाभग्राही मात्र होइन, ज्ञानदाता पनि
मन्त्रालयको अवधारणाले ज्येष्ठ नागरिकलाई राज्यबाट सेवा तथा सुविधा प्राप्त गर्ने लाभग्राहीका रूपमा मात्र नभई ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्ने ज्ञानदाताका रूपमा समेत स्थापित गर्ने लक्ष्य राखेको छ ।
मन्त्री बादीका अनुसार ज्येष्ठ नागरिकको वास्तविक सम्मान उनीहरूको अनुभव सुन्ने, ज्ञानको सम्मानपूर्वक उपयोग गर्ने र सामाजिक तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको अवसर सिर्जना गर्ने वातावरणबाट स्थापित हुन्छ ।
उनले बदलिँदो पारिवारिक संरचना, बसाइँसराइ, शहरीकरण र जीवनशैलीका कारण ज्येष्ठ नागरिकको स्वास्थ्य, सामाजिक सुरक्षा, हेरचाह, एक्लोपन तथा सामाजिक सहभागितासँग सम्बन्धित नयाँ चुनौती थपिएको उल्लेख गरेका छन् ।
ज्येष्ठ नागरिकको जीवनलाई सुरक्षित, मर्यादित र अर्थपूर्ण बनाउनु परिवार, समुदाय, समाज र राज्य सबैको साझा दायित्व भएको उनको भनाइ छ ।
मन्त्रालयले ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ मार्फत ज्येष्ठ नागरिकको सम्मानलाई हेरचाह र संरक्षणमा मात्र सीमित नराखी उनीहरूको जीवनभरको ज्ञान, सीप र अनुभवलाई राष्ट्रको सम्पत्तिका रूपमा संरक्षण गर्दै नयाँ पुस्तासँग जोड्ने आधार तयार हुने विश्वास व्यक्त गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।