म्याग्दी। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाको बाँधमा बाढी पसेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाका आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार असोज ८ देखि ११ गतेसम्मको वर्षा, बाढी र पहिरोका कारण रेलेखर्कको फेदीमा रहेको बाँधमा क्षति पुगेको हो। रेलेखर्क क्षेत्रमा पहिरो गएपछि खोलामा बाढीको सतह बढेर बाँधमा थुप्रिएको छ।
दुर्गम क्षेत्रमा रहेको बाँधसम्म पुग्ने पहुँचमार्गसमेत पहिरोले अवरुद्ध भएकाले बाढी हटाएर आयोजना सञ्चालन गर्न कठिनाइ भएको आयोजनाले जनाएको छ। बाँधका भौतिक संरचनामा क्षति पुगेपछि विद्युत बिक्रीसमेत रोकिएको छ।
गत वर्ष निर्माण सम्पन्न भएको आयोजना २२० केभी क्षमताको दाना सबस्टेसनमार्फत केन्द्रीय प्रणालीमा जोडिएको थियो। कालीगण्डकीमा आएको बाढीपहिरोले प्रसारण लाइनका टावर र तारमा समेत क्षति पुर्याएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।