काठमाण्डौ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताएका छन् ।
सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले नाका सञ्चालनका लागि नेपाली पक्ष तयार भए पनि चिनियाँ पक्षबाट अझै ‘ग्रिन सिग्नल’ नआएको जानकारी दिए ।
उनका अनुसार विपद्का कारण नाका सञ्चालनमा समस्या आएपछि सरकारले सडक तथा आवश्यक पूर्वाधार पुनःस्थापनाको काम अघि बढाएको छ । तातोपानीतर्फ नेपाली भूभागमा सडक सञ्चालनमा आइसकेको भए पनि चिनियाँ पक्षबाट अनुमति नआएकाले नाका पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
मन्त्री लम्सालले चिनियाँ पक्षसँग दैनिकजसो संवाद भइरहेको बताए । विपद्को अवस्था देखाउँदै चीन तत्काल नाका खोल्न केही हदसम्म अनिच्छुक देखिएको भए पनि नेपालले निरन्तर पहल गरिरहेको उनको भनाइ छ ।
उनले तातोपानी नाकासँगै रसुवागढी नाका पुनः सञ्चालनका लागि पनि सरकारले पहल गरिरहेको जानकारी दिए ।
मन्त्री लम्सालका अनुसार रसुवागढी चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको पुनः सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको छ । त्यसका लागि आवश्यक सडक, पूर्वाधार र समन्वयका काम अघि बढाइएको उनले बताए ।
त्यसैगरी सरकारले नुवाकोटको विदुरलाई ट्रेड सिटी, इन्डस्ट्रियल सिटी र स्याटेलाइट सिटीका रूपमा विकास गर्ने योजना बनाएको उनले जानकारी दिए ।
उनका अनुसार उक्त योजनालाई अघि बढाउन मास्टर प्लान तयार गर्ने प्रक्रिया सुरु गरिनेछ ।
तातोपानी र रसुवागढी नाका चीनसँगको व्यापारका दृष्टिले महत्वपूर्ण रहेकाले दुवै नाका यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारले कूटनीतिक तथा पूर्वाधारतर्फको काम समानान्तर रूपमा अघि बढाइरहेको मन्त्री लम्सालले बताए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।