काठमाण्डौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारअन्तर्गत विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसहित सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, विभाग तथा अन्य सङ्घीय निकायलाई पत्राचार गर्दै कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरण गर्न अनुरोध गरेको हो।
स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम मन्त्रालय, सचिवालय, आयोग, प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई समेत स्वास्थ्य बीमाको दायरामा ल्याउन सम्बन्धित निकायमार्फत आवश्यक पहल गर्न भनिएको छ।
त्यस्तै, सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा स्वास्थ्य क्षेत्रका अन्य सङ्घीय निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई पनि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पत्राचार र समन्वय गर्न निर्देशन दिइएको छ।
सरकारी सेवामा कार्यरत कर्मचारीको स्वास्थ्य बीमामा पहुँच विस्तार गर्दै स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले मन्त्रालयले यस्तो पहल थालेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।