शुक्रबार, आश्विन ३०,२०८३ 05:09:55
Bizshala
  • शुक्रबार, आश्विन ३०,२०८३ 05:09:55
Bizshala
Global IME Bank Limited

एमसिए–नेपालको समयसीमा सकिन १ वर्ष १० महिना बाँकी, खर्च भने २०.५६ प्रतिशत मात्रै

Bizshala
एमसिए–नेपालको समयसीमा सकिन १ वर्ष १० महिना बाँकी, खर्च भने २०.५६ प्रतिशत मात्रै
New Office

–रविन ठकुरी

 

काठमाण्डौ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गतका आयोजना कार्यान्वयनका लागि तोकिएको समयसीमा सकिन अब करिब १ वर्ष १० महिना बाँकी रहँदा कुल खर्च २०.५६ प्रतिशत मात्रै पुगेको छ। सेप्टेम्बर २०२६ अर्थात् २०८३ असोज १४ गतेसम्म एमसिए–नेपालले १५ करोड ३५ लाख ८८ हजार ९६० अमेरिकी डलर खर्च गरेको छ। नेपाली मुद्रामा यो रकम २३ अर्ब ३४ करोड ९ लाख रुपैयाँभन्दा बढी हुन्छ।

निर्धारित समयसीमाभित्र आयोजना सम्पन्न नभए कम्प्याक्टअन्तर्गत उपलब्ध अनुदान रकम फिर्ता जाने प्रावधान रहेकाले बाँकी अवधिमा निर्माण कार्यको गति महत्वपूर्ण बन्ने देखिएको छ।

हालसम्म अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) तर्फबाट १४ अर्ब ९१ करोड ९० लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। नेपाल सरकारतर्फ भने आर्थिक वर्ष २०८२/८३ सम्म विनियोजित रकमको ७४.२ प्रतिशत अर्थात् ८ अर्ब ४२ करोड ६४ लाख रुपैयाँभन्दा बढी खर्च भएको विवरण छ।

विद्युत् प्रसारणमा सबैभन्दा ठूलो खर्च

एमसिए–नेपालअन्तर्गत विद्युत् प्रसारण आयोजना, सडक मर्मत आयोजना तथा कार्यक्रम व्यवस्थापन र अनुगमनमा बजेट खर्च भइरहेको छ।

विद्युत् प्रसारण आयोजनामा हालसम्म १८.५१ प्रतिशत, सडक मर्मत आयोजनामा १३.४४ प्रतिशत र कार्यक्रम व्यवस्थापन तथा अनुगमनमा ४८.८५ प्रतिशत बजेट खर्च भएको एमसिए–नेपालले जनाएको छ।

विद्युत् प्रसारण आयोजनामा मात्रै ११ करोड ७० लाख ७४ हजार ५५४ अमेरिकी डलर खर्च भएको छ। नेपाली मुद्रामा उक्त खर्च करिब १७ अर्ब ७९ करोड ८८ लाख रुपैयाँ बराबर हुन्छ।

त्यस्तै सडक मर्मत आयोजनामा करिब १ अर्ब १२ करोड ३२ लाख रुपैयाँ र कार्यक्रम व्यवस्थापन तथा अनुगमनमा ४ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।

प्रसारण आयोजनाका लागि ९६ अर्बभन्दा बढी बजेट

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाका लागि ६३ करोड २४ लाख २० हजार ३८७ अमेरिकी डलर छुट्याएको छ। नेपाली मुद्रामा यो रकम करिब ९६ अर्ब १४ करोड ६८ लाख रुपैयाँ हुन आउँछ।

सडक मर्मत आयोजनाका लागि करिब ८ अर्ब ३५ करोड ४९ लाख रुपैयाँ र कार्यक्रम व्यवस्थापन तथा अनुगमनका लागि ९ अर्ब ६ करोड ४६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

२०२७ मा भारततर्फ थप २०० मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य

विद्युत् प्रसारण आयोजना अन्तर्गत करिब ३१५ किलोमिटर लामो ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ।

नुवाकोटको रातमाटे, तनहुँको नयाँ दमौली र नवलपरासी पश्चिमको नयाँ बुटवलमा तीन वटा ४०० केभी क्षमताका ग्यास इन्सुलेटेड सबस्टेशन निर्माण भइरहेका छन्।

नयाँ बुटवल सबस्टेशनदेखि नेपाल–भारत सीमासम्मको ४०० केभी क्रस–बोर्डर प्रसारण लाइनको १८ किलोमिटर नेपालतर्फको खण्ड सेप्टेम्बर २०२६ मै सम्पन्न भएको एमसिए–नेपालले जनाएको छ।

उक्त लाइनलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुअघि २२० केभीमा ऊर्जाकरण गर्ने तयारी भइरहेको छ। यसबाट सुख्खा मौसममा १३० मेगावाटसम्म विद्युत् आयात गर्न र सन् २०२७ मा भारततर्फ थप २०० मेगावाटसम्म नेपाली विद्युत् निर्यात गर्न सकिने एमसिए–नेपालको अपेक्षा छ।

बाँकी २९७ किलोमिटर प्रसारण लाइनमध्ये नयाँ दमौली–नयाँ बुटवलबीचको ९० किलोमिटर खण्डमा टावर फाउन्डेसन निर्माण सुरु गरिएको छ। बाँकी दुई प्रसारण लाइन ठेक्काको टावर निर्माण पनि दशैंपछि अघि बढाउने तयारी गरिएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धनखोला–लमही सडकमा नयाँ प्रविधि

सडक मर्मत आयोजनाअन्तर्गत १३० किलोमिटर रणनीतिक सडक सञ्जालको मर्मतसम्भार गर्ने लक्ष्य छ। यसका लागि करिब ५ करोड ४९ लाख अमेरिकी डलर लगानी गरिएको छ।

पूर्व–पश्चिम राजमार्गको धनखोला–लमही खण्डमा सडक स्तरोन्नतिको काम अप्रिल २०२६ बाट औपचारिक रूपमा सुरु भएको हो।

आयोजनाले पहिलोपटक ‘फुल डेप्थ रिक्लेमेसन’ प्रविधिको परीक्षण गर्ने तयारी गरेको छ। पूर्णस्तरीय निर्माण नोभेम्बर २०२६ बाट सुरु गर्ने तालिका छ। यो प्रविधिमा सडकमा रहेको पुरानो सामग्री पुनः प्रयोग गर्न सकिने भएकाले लागत घट्नुका साथै वातावरणीय दृष्टिले पनि लाभदायी हुने एमसिए–नेपालले जनाएको छ।

बाढीले चुनौती थप्यो

हालैका बाढीका कारण पहुँच मार्ग तथा यातायातमा अवरोध सिर्जना हुँदा निर्माण कार्यमा समेत चुनौती थपिएको छ।

एमसिए–नेपालले ठेकेदार, सरकारी निकाय, स्थानीय तह, समुदाय र एमसिसीसँग समन्वय गरी ढिलाइ न्यूनीकरण गर्दै परियोजनाको काम अघि बढाइरहेको जनाएको छ।

एमसिसी–नेपाल कम्प्याक्ट अहिले योजना र तयारीको चरणबाट विद्युत् प्रसारण लाइन तथा सडक मर्मत दुवै परियोजनामा सक्रिय निर्माणको चरणमा प्रवेश गरिसकेको छ। विद्युत् प्रसारणतर्फ सबै प्रमुख ठेक्का प्रदान भइसकेका छन् भने सडकतर्फ दुई ठूला ठेक्कामध्ये एउटा प्रदान भइसकेको र दोस्रो डिसेम्बरमा दिने अपेक्षा गरिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.