काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्।
एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार दिउँसो बैंकक प्रस्थान गरेका हुन्।
संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन इएससीएपी) द्वारा आयोजित सम्मेलनलाई मन्त्री श्रेष्ठले बुधबार सम्बोधन गर्ने कार्यक्रम छ।
यस्तै, थाइल्याण्ड, नेपाल र यूएन इएससीएपीले संयुक्त रूपमा आयोजना गरेको ‘सगरमाथादेखि सागरसम्म: एसिया–प्रशान्त क्षेत्रमा शृङ्खलाबद्ध विपद् रोक्न नेपालको भोटेकोशी–त्रिशूली घटनाले सिकाएका पाठहरू’ विषयक कार्यशालालाई उनले बिहीबार सम्बोधन गर्नेछन्।
भ्रमणका क्रममा मन्त्री श्रेष्ठले विभिन्न देशका मन्त्रीसँग साइडलाइन वार्ता गर्ने कार्यक्रमसमेत रहेको उनका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनले जानकारी दिए।
सम्मेलनमा नेपालका तर्फबाट विशेषगरी विपद् पूर्वसूचना प्रणाली, क्षेत्रीय स्याटेलाइटको निःशुल्क प्रयोग तथा जलवायु क्षतिपूर्तिको विषय उठाइने महर्जनले बताए।
भ्रमण टोलीमा मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला तथा जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ एवं वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रकी बोर्ड सदस्य अंकिता शाह सहभागी छन्।
मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किने कार्यतालिका छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।