काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ८५ लाख ८५ हजार रुपैयाँ खुद घाटामा गएको छ।
कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिमा कम्पनीले १८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा फाइनान्सको खराब कर्जा अनुपात बढेर ६२.९२ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो अनुपात ५३.८० प्रतिशत थियो। उच्च खराब कर्जा कम्पनीको वित्तीय स्वास्थ्यका लागि प्रमुख दबाबका रूपमा देखिएको छ।
कम्पनीको खुद ब्याज आम्दानी भने उल्लेख्य बढेको छ। गत वर्ष पहिलो त्रैमासमा १ करोड ७४ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष बढेर ६ करोड ११ लाख रुपैयाँ पुगेको छ। तर कर्जा नोक्सानीसम्बन्धी व्यवस्थापन र अन्य खर्चका कारण कम्पनी नाफामा फर्किन सकेन।
असोज मसान्तसम्म फाइनान्सले २ अर्ब २० करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३ करोड १२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो त्रैमासमा निक्षेप २ अर्ब ६४ करोड रुपैयाँ र कर्जा २ अर्ब ४७ करोड ८० लाख रुपैयाँ थियो।
कम्पनीको कुल सम्पत्ति पनि घटेर ४ अर्ब ३० करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो त्रैमासमा कुल सम्पत्ति ४ अर्ब ६७ करोड रुपैयाँ थियो।
सबैभन्दा कमजोर पक्षमध्ये कम्पनीको कुल इक्विटीसमेत ऋणात्मक बनेको छ। असोज मसान्तमा कुल इक्विटी ५ करोड ६७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। रिटेन्ड अर्निङ करिब १ अर्ब १७ करोड ८२ लाख रुपैयाँ ऋणात्मक छ।
यस्तै कम्पनीको पुँजीकोष अनुपातसमेत ८.११ प्रतिशत ऋणात्मक रहेको छ। गत वर्षको सोही अवधिमा यो अनुपात ५.७४ प्रतिशत ऋणात्मक थियो।
कम्पनीको प्रतिसेयर आम्दानी ४.९७ रुपैयाँ ऋणात्मक छ। आधारदर ९.३१ प्रतिशत र कस्ट अफ फण्ड ६.४० प्रतिशत रहेको छ। सीडी रेसियो ९२.१६ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।