नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालको सूचना प्रविधि, जलविद्युत् र सम्पर्क पूर्वाधारमा लगानी गर्न आह्वान गरेका छन्। उनले नेपालमा लगानी गरिसकेका भारतीय व्यवसायीलाई पनि आफ्नो लगानी विस्तार गर्न आग्रह गरे।
प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका वाग्लेले आइतबार नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा आयोजित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा दुवै देशका निजी क्षेत्रका प्रतिनिधिलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन्। कार्यक्रम भारतीय उद्योग परिसंघ (सीआईआई) ले आयोजना गरेको हो।
‘सूचना प्रविधि, जलविद्युत्, कनेक्टिभिटीजस्ता क्षेत्रमा निर्धक्क भएर नयाँ लगानी गर्न म भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गर्दछु,’ वाग्लेले भने, ‘नेपालमा लगानी गरेकाहरूले लगानी विस्तार गर्नुहोस्।’
विदेशी लगानी बढाउन सरकारले कानुनी व्यवस्था सरल र लगानीमैत्री बनाउँदै लगेको वाग्लेले बताए। लगानीको सुरक्षा र प्रतिफल सुनिश्चित गर्न तथा लगानीकर्ताले आर्जन गरेको नाफा फिर्ता लैजाने कानुनी प्रक्रिया सहज बनाउन सरकारले पहल गरिरहेको उनको भनाइ थियो।

कार्यक्रममा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद र सीआईआई अन्तर्राष्ट्रिय परिषद्का अध्यक्ष डा. विक्रमजित सिंह साहनीले पनि सम्बोधन गरे। प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उद्योगी–व्यवसायीसँगै करिब डेढ दर्जन भारतीय उद्योगी–व्यवसायी तथा भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृत कार्यक्रममा सहभागी थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।