काठमाण्डौ । सुनसरीको धरानमा भारतीय नम्बर प्लेटको गाडीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद भएको छ। प्रहरीले नियमित सवारी जाँचका क्रममा ४९९ किलो तयारी गाँजासहित एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजयकुमार साह रहेका छन्।
प्रहरीका अनुसार शनिबार राति धरान उपमहानगरपालिकाबाट इटहरीतर्फ जाँदै गरेको बीआर ११ वाई ३०३९ नम्बरको भारतीय गाडीलाई सेउती पुलमा रोकेर जाँच गरिएको थियो।
सोही क्रममा गाडीभित्र लुकाएर राखिएको अवस्थामा ४९९ किलो तयारी गाँजा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिएको छ।
यसैबीच, सुनसरीकै दुहवी नगरपालिका–७ बाट पनि प्रहरीले ठूलो परिमाणमा गाँजासहित अर्का एक युवकलाई पक्राउ गरेको छ।
शनिबार राति गरिएको कारबाहीमा धरान उपमहानगरपालिका–२० का २१ वर्षीय गौरव राईलाई २१ किलो ९८० ग्राम गाँजासहित नियन्त्रणमा लिइएको हो।
यी दुई छुट्टाछुट्टै घटनामा प्रहरीले कुल ५२० किलो ९८० ग्राम गाँजा बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरू र बरामद लागूऔषधका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।