काठमाडौं। टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा नयाँ विश्वव्यापी जलवायु सम्झौताका विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न सकेको छैन।
बीबीसीका अनुसार निर्धारित समयभन्दा एक दिन बढी छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएपछि वार्ता रातभरका लागि स्थगित गरिएको छ।
युरोपेली संघ (ईयू) र प्रशान्त क्षेत्रका केही टापु राष्ट्रहरू सम्झौताको नयाँ मस्यौदाप्रति असन्तुष्ट छन्। मस्यौदामा विश्वको जीवाश्म इन्धनमाथिको निर्भरता घटाउने विषय समावेश नगरिएको उनीहरूको असहमतिको मुख्य कारण हो।
त्यस्तै, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा त्यसबाट प्रभावित समुदायलाई सहयोग गर्न आवश्यक आर्थिक सहायता पनि वार्ताको प्रमुख विवादित विषय बनेको छ।
अफ्रिकी राष्ट्रहरूको समूहले यसका लागि थप आर्थिक सहयोगको प्रतिबद्धता जनाउन माग गरेको छ। तर युरोपेली संघले भने उक्त मागलाई समर्थन नगर्ने स्पष्ट पारिसकेको छ।
आइतबार बिहान स्वदेश फर्कने तयारीमा रहेका विभिन्न देशका वार्ता टोलीले आफ्ना उडान सोमबारका लागि सारेका छन्। यसले सम्झौतामा सहमति जुटाउन थप समय लाग्ने संकेत गरेको छ।
संयुक्त राष्ट्रसंघको जलवायु वार्तामा कुनै पनि सम्झौता पारित गर्न सबै सदस्य राष्ट्रको सहमति आवश्यक हुन्छ। सहमति जुट्न नसके वार्ता स्थगित हुन सक्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।