आईतवार, मंसिर ६,२०८३ 12:09:08
  • आईतवार, मंसिर ६,२०८३ 12:09:08
Global IME Bank Limited

खेती गर्ने किसानलाई स्थानीय सरकारको पुरस्कार : ५० मुरी धान फलाए ५० हजार रुपैयाँ नगद

Bizshala
खेती गर्ने किसानलाई स्थानीय सरकारको पुरस्कार : ५० मुरी धान फलाए ५० हजार रुपैयाँ नगद
New Office

 

काठमाण्डौ । किसानलाई उत्पादन बढाउन प्रोत्साहित गर्ने उद्देश्यले पाँचथरको मिक्लाजुङ गाउँपालिकाले आकर्षक नगद पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ। गाउँपालिकाले ५० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसानलाई ५० हजार रुपैयाँसम्म पुरस्कार दिने व्यवस्था गरेको हो।

कृषि उत्पादन बढाउने अभियानअन्तर्गत गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक अहिले किसानका खेत र खलामै पुगेर धानको उत्पादन नापजाँच गरिरहेका छन्। किसानले कति धान फलाए भन्ने यकिन गर्न स्थानीय सरकारले खलोमै पुगेर तथ्याङ्क संकलन गर्ने गरेको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्दै आएको हो। उत्पादनका आधारमा किसानलाई नगद पुरस्कार दिने कार्यक्रम प्रभावकारी देखिएपछि पछिल्ला वर्षहरूमा यसको दायरा विस्तार गरिएको छ।

यसैक्रममा मिक्लाजुङ–७ का किसान बमबहादुर बोहोराले यस वर्ष ७० मुरीभन्दा बढी धान भित्र्याएका छन्। उनले लिम्बा दोभानस्थित तीनवटा खलामध्ये एउटामा झारेको धान मात्रै २५ मुरी पुगेको थियो।

वडाध्यक्ष हेमचन्द्र रेग्मी, वडा सचिव ख्यामप्रसाद चम्लागाईं र कृषि प्राविधिक रीता राईको उपस्थितिमा उक्त धान नापिएको हो।

वडाध्यक्ष रेग्मीका अनुसार बोहोरा यस वर्ष धेरै धान फलाउने किसानमध्ये अग्रस्थानमा छन्। उनले धानसँगै गोठेमल उत्पादनतर्फ पनि पुरस्कार पाउने सम्भावना रहेको छ।

CG Motors
Garima Development Bank
IME remit

धान मात्रै होइन मकै आलु र मल उत्पादनमा पनि पुरस्कार

गाउँपालिकाले धानसँगै मकै, आलु र प्राङ्गारिक मल उत्पादन गर्ने किसानलाई समेत नगद प्रोत्साहन दिँदै आएको छ।

हालसम्म लागू मापदण्डअनुसार पुरस्कारको व्यवस्था यस्तो छ :

उत्पादनमापदण्डनगद पुरस्कार
धान५० मुरीभन्दा बढीरु. ५० हजार
मकै२० फिट लामो र ४ फिट अग्लो थाङ्ग्रोरु. ३० हजार
आलु३५ मनभन्दा बढीरु. २५ हजार
प्राङ्गारिक मल१० घनमिटरभन्दा बढीरु. २५ हजार

गाउँपालिकाका प्रवक्ता अविशन लावतीका अनुसार चालु आर्थिक वर्षमा पुरस्कार वितरणको मापदण्ड केही परिमार्जन गर्ने तयारी छ।

कृषकको सहभागिता बढेसँगै पुरस्कारमा हुने वार्षिक खर्चसमेत बढेकाले मापदण्डलाई थप व्यवस्थित बनाउन लागिएको उनको भनाइ छ।

पुरस्कार प्राप्त गर्न किसानले बाली भित्र्याउनुअघि सम्बन्धित वडा कार्यालयलाई जानकारी गराउनुपर्छ। त्यसपछि जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिकको उपस्थितिमा उत्पादनको परिमाण परीक्षण गरिन्छ।

एकै वर्ष ५८६ किसानले पाए पौने दुई करोडभन्दा बढी पुरस्कार

गाउँपालिकाले गत आर्थिक वर्षमा मात्रै ५८६ जना किसानलाई कुल १ करोड ८५ लाख ६५ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार वितरण गरेको थियो।

जसमध्ये धान उत्पादन गर्ने १०७ जना किसानले ५३ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका थिए।

त्यस्तै, मकै उत्पादन गर्ने २४८ जना किसानलाई ७४ लाख ४० हजार रुपैयाँ वितरण गरिएको थियो।

आलु उत्पादन गर्ने ६७ किसानले १६ लाख ७५ हजार रुपैयाँ र प्राङ्गारिक मल उत्पादन गर्ने १६४ किसानले ४१ लाख रुपैयाँ पुरस्कार पाएका थिए।

गाउँपालिकाका अनुसार कृषक प्रोत्साहन कार्यक्रममा सहभागी हुने किसानको संख्या हरेक वर्ष बढिरहेको छ। यसले स्थानीयस्तरमा कृषि उत्पादन विस्तार गर्न सकारात्मक भूमिका खेलेको पालिकाको दाबी छ।

अर्को गाउँपालिकामा पनि उस्तै कार्यक्रम

पाँचथरकै फाल्गुनन्द गाउँपालिकाले पनि धेरै धान उत्पादन गर्ने किसानलाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ।

फाल्गुनन्दले ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ३० हजार रुपैयाँ र १०० मुरीभन्दा बढी उत्पादन गर्नेलाई ५० हजार रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ।

पाँचथरका मिक्लाजुङ र फाल्गुनन्द तुलनात्मक रूपमा राम्रो सिँचाइ सुविधा भएका तथा बढी अन्न उत्पादन हुने स्थानीय तह मानिन्छन्।

कृषि उत्पादन बढाउने सरकारी कार्यक्रमहरू प्रायः अनुदान, तालिम र सामग्री वितरणमा केन्द्रित भइरहेका बेला यी गाउँपालिकाले भने प्रत्यक्ष उत्पादनको परिमाणका आधारमा किसानलाई पुरस्कृत गर्ने फरक अभ्यास अघि बढाएका छन्।

यसले किसानलाई उत्पादन बढाउन प्रेरित गर्नुका साथै स्थानीय तहमा खाद्यान्न आत्मनिर्भरता हासिल गर्ने प्रयासलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.