काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आज दिउँसो दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दै छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् भने सोमबार भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमसमेत छ। भारतीय विदेशमन्त्री डा. एस जयशंकरले आजै प्रधानमन्त्री शाहसँग भेट गर्नेछन्।
भ्रमणमा नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारलगायतका विषयमा छलफल हुनेछ। साथै, सम्पन्न परियोजनाको उद्घाटन, नयाँ परियोजनाको शिलान्यास र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गरिने कार्यक्रम छ।
यसै क्रममा नेपालमा भारतीय लगानी प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल–भारत बिजनेस फोरम आयोजना गरिनेछ। कार्यक्रममा भारतीय व्यवसायीलाई नेपालमा लगानीका अवसर र सरकारी नीतिबारे जानकारी गराउनुका साथै उनीहरूका चासो तथा सुझावसमेत संकलन गरिनेछ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका सल्लाहकार, उच्च सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी हुनेछन्।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार साँझ १८ः३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।